• २२ असार २०८२, आइतबार

तीन निर्वाचन क्षेत्र उपनिर्वाचनमा ६९ जनाको उम्मेदवारी

blog

काठमाडौँ, चैत २१ गते । आउँदो वैशाख १० गते हुने तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ जनाको उम्मेदवारी परेको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा निर्धारित उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकोमा सो सङ्ख्यामा उम्मेदवारी परेको हो। 

निर्वाचन आयोगका अनुसार बारा–२ मा सबैभन्दा बढी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये १२ जनाले राजनीतिक दलबाट र २४ जनाले स्वतन्त्र निर्वाचन चिह्न पाउने गरी उम्मेदवारी दर्ता गराएका छन्। चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएकोमा १२ जना राजनीतिक दलबाट र १२ जना स्वतन्त्र उम्मेदवार छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तनहुँ–१ मा नौ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार छैन। 

उपनिर्वाचन कार्यक्रमबमोजिम चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। वैशाख १० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।