• १० पुस २०८१, बुधबार

ठोरीलाई पर्यटकीय क्षेत्र बनाउँछौं : मन्त्री यादव

blog

पर्साको ठोरी रिसोर्टमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्बिर : दीपक गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज,  चैत २० गते । मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले मधेस सरकारको ध्यान पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा केन्द्रित रहेको बताउनुभएको छ ।  

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा र ठोरी गाउँपालिकाको आयोजनामा पर्साको ठोरी रिर्सोटमा आयोजित ठोरीको पर्यटन प्रबर्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्याक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री यादवले ठोरीमा वन जङ्गल, डाडाँकाँडा अनि खोला तथा नदीको मनोरम दृश्य रहेकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।  

मधेस प्रदेशको पर्यटकीयस्थलको पहिचान गर्ने काम भइरहेको उहाँले बताउनुभयो ।  यसअघिको जस्तो दश पन्ध्र लाखका योजना नबनाई गुरुयोजना बनाएर पर्यटकीय स्थल विकास गर्नेतर्फ प्रदेश सरकार लागिपरेको उहाँले बताउनुभयो । 

ठोरीलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश सरकारले कन्जुस्याई नगर्ने उहाँको भनाइ छ । गुरुयोजना बनाएर ठोरीलाई पर्यटकीय स्थालका रुपमा विकास गर्न प्रदेश सरकारले लगानी गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।  

अहिले आएको बजेट १ करोड रुपियाँ खर्च नगरिए फ्रिज भएर जाने भएकाले जतिसक्दो छिटो खर्चको व्यवस्थापन गर्न उहाँले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । मधेसमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास गर्दा ठोरी प्रदेश सरकारको नजरबाट अलग नरहने उहाँले बताउनुभयो ।

ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई ओझेलमा पारेको आरोप लगाउनुभयो । प्रदेश मन्त्री परिषदको बैठक ठोरी रिर्सोटमा बसी ठोरीलाई पयर्टकीय स्थालका रुपमा विकास गर्न १० करोड रुपियाँ बजेट बिनीयोजन गर्ने निर्णय गरिएको तत्कालिन मुख्यमन्त्रीले बताउनुभएको तर काम नभएको उहाँको भनाइ छ । होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरी पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।