• ६ वैशाख २०८१, बिहिबार

मकै नउम्रेपछि किसानको लगानी खेर

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत १९ गते । झापाका किसानले उन्नत जातको भनेर लगाएको मकै नउम्रेपछि समस्या सिर्जना भएको छ भने लगानी खेर गएको छ । स्थानीय तहले अनुदानमा वितरण गरेको मकै र किसानले बजारबाट किनेर लगेको मकैको बिउ नउम्रेपछि किसानको लगानी खेर जाने अवस्था आएको हो ।

जिल्लाको मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको मकै नउम्रेपछि किसानले यस विषयमा आपत्ति जनाएका छन् । मेचीनगर–१०, धुलाबारीस्थित खड्का कृषि भण्डारले बिउ उपलब्ध गराएको थियो । नगरपालिकाले अनुदानमा उपलब्ध गराएको मकै किसानले यहीँबाट लगेका थिए । रामपुर कम्पोजिट जातको मकैको बिउ किसानलाई अनुदानमा उपलब्ध गराउन गरिएको आह्वानअनुसार खड्का कृषि भण्डारको फर्मलाई नगरपालिकाले प्रक्रिया पु-याएर छनोट गरेको थियो । प्रतिकिलो १०४ रुपियाँ ८० पैसाको ५० प्रतिशत तिरेर किसानले मकै रोपेका थिए ।

मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानका अनुसार बिउ नउम्रेको किसानबाट गुनासो आएको जनाउँदै यस विषयमा तत्कालै छानबिन सुरु गरिएको बताउनुभएको छ । प्रारम्भिक रूपमा हेर्दा केही ठाउँमा मकैको बिउमा उमार शक्ति नभएको पाइएको उहाँको भनाइ छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ११ टन मकै नगरपालिकाभित्र किसानलाई वितरण गरेको थियो । किसानको गुनासो सम्बोधन गर्न मकै नउम्रेका किसानलाई पुनः बिउ उपलब्ध गराउने नगरपालिकाले तयारी गरेको पनि बताइएको छ । यसैबीच शुक्रबार बेलुका आएको हावाहुरी र असिनापानीले झापाका विभिन्न पालिकामा लगाएको मकैमा ठूलो क्षति पुगेको छ । दमक–३ का तुलसी पुरीका अनुसार अधिकांश किसानले लगाएको मकै बाली नष्ट भएको छ । काम नलाग्ने गरी मकै नष्ट भएको उहाँले बताउनुभयो ।