• ८ वैशाख २०८१, शनिबार

थ्रीस्टारले जित्यो खप्तड गोल्डकपको उपाधि

blog

उपाधि विजेता थ्रीस्टार क्लबका खेलाडी ।

अविनाश चौधरी

धनगढी, चैत १८ गते। कैलालीको धनगढीमा भएको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ। 

थ्रीस्टारले साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्डकपको उपाधि चुमेको हो।

यो पराजयसंगै मनाङको भने तीन पटक खप्तड गोल्डकप च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ। यसअघि, मनाङले दुई पटक खप्तड गोल्डकको उपाधि जितेको थियो। यस्तै, यो हारले मनाङलाई यस वर्ष तीन वटा गोल्डकपको उपाधि जित्ने अवसरबाट पनि वञ्चित गराएको छ। मनाङले यसै वर्ष तिलोत्तमा गोल्डकप र मकवानपुर गोल्डकपको उपाधि जितेको थियो। 

जितसँगै थ्रीस्टारले २१ लाख रुपियाँ पुरस्कारसहित ट्रफी पाएको छ। उपविजेता बनेको मनाङले भने १० लाख रुपियाँ पुरस्कारमा चित्त बुझाएको छ। 

प्रतियोगितामा थ्रीस्टारका कप्तान विक्रम लामा प्लेर अफ द टुर्नामेन्ट घोषित भई एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो। यसैगरी, उदीयमान खेलाडीको पुरस्कार सुदूरपश्चिम–११ का दीपेन्द्र मलासीले जित्नुभयो। उहाँले नगद २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो। 

यस्तै, बेस्ट गोलकिपरको उपाधि थ्रीस्टारका गोलरक्षक मोहम्मद ताहा, उत्कृष्ट रक्षकको उपाधि थ्रीस्टारकै पिटर सेगुन, उत्कृष्ट प्रशिक्षकको उपाधि थ्रीस्टारका मेघराज केसीले प्राप्त गर्नुभयो। यसैगरी, धेरै गोलकर्ताको उपाधि मनाङ मर्स्याङ्दीका शहीद जमाल, उत्कृष्ट मिड फिल्डरको उपाधि मनाङकै बिसोन गुरुङले प्राप्त गर्नुभयो। सबै जनाले जनही १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नु भएको छ। 

फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा थ्रीस्टारका आदित्य शाक्यको प्रहारलाई मनाङका गोलरक्षक जिआरथले गोल हुनबाट जोगाउनु भएको थियो।

 दोस्रो हाफको ७४ औँ मिनेटमा  फ्रि किकलाई सदुपयोग गर्दै थ्रीस्टारका अनिल महर्जनले आफ्नो टिमलाई एक गोलको अग्रता दिलाउनुभयो। त्यसपछि अतिरिक्त समयको ९३ औँ मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामाले गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गर्नुभयो। कर्नर किकमा उहाँले हेडर गोल गर्नु भएको थियो। 

फाइनल खेलमा मनाङले अपेक्षाकृत खेल्न सकेन। गतविजेता मनाङमाथि थ्रीस्टारले सुरुदेखि नै दबाब बनाएको थियो।