• ११ वैशाख २०८१, मङ्गलबार

बब र मारगारेटालाई एसिया ट्रायथलन कप उपाधि

blog

एसिया ट्रायथलन कप उपाधि विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, चैत १८ गते । एसिया कप ट्रायथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जित्नुभएको छ ।

पोखरा फेवातालमा शनिबार भएको ७५० मिटर पौडी, २० किमी साइक्लिङ ५ किमी दौड बबले ५५ मिनट ५५ सेकेन्डमा र मागरगेटाले १ घण्टा ४ मिनट ५१ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । 

नेपाल ट्रायथलन सङ्घको आयोजनमा भएको २०२३ एसिया ट्रायथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत भएको प्रतियोगिताको एसिया कपतर्फ दोस्रो स्थानमा पुरुषतर्फ उज्वेक्सितानका एलेक्जेन्डर कुरिसोभले उक्त दूरी ५५ मिनट ५७ सेकेन्ड र तेस्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनट ०१ सेकेन्डमा पूरा गर्नुभयो । 

महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोस्रो र तेस्रो हुनुभयो । विश्व ट्रायथलन महासङ्घको नियम बमोजिम घोषित कूल पुरस्कार राशि मध्ये शीर्ष तीनलाई क्रमशः ६३० अमेरिकी डलर, ५२५ डलर र ४२० डलर पुरस्कार प्रदान गरियो । 

दक्षिण एसियन च्याम्पियनसिपमाको ट्रायथलनतर्फ भारतका आदर्श मुरलीधरण नायर सिनिमोल पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी १ घण्टा ४ मिनट १६ सेकेन्डमा पूरा गर्नुभयो । भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारु तेस्रो हुनुभयो । 

महिलातर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहन पहिलो भारतकै मान्सी मोहिते दोस्रो र नेपालकी श्रेवी महर्जन तेस्रो हुनुभयो । जुनियर ट्रायथलनमा भारतले एकलौटी बाजी मारेको छ । भारतका खुन्द्रकपाम नगन्बा मैते पहिलो, पार्थ मिराज दोस्रो र 

श्रीदथ सुधीर तेस्रो हुनुभयो । महिलातर्फ भारतकी संजना सुनिल जोशी पहिलो, नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देवकी शर्मा तेस्रो हुनुभयो । राष्ट्रियतर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ श्रेवी महर्जन पहिलो र केशरी थापामगर दोस्रो हुनुभयो । 

फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्बेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरी ४३ खेलाडीको सहभागिता रहेको थियो । 

महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरी १५ खेलाडीको सहभागिता रहेको थियो । आइतबार दुवाथलन विधामा प्रतिस्पर्धा हुनेछ ।