• १३ मंसिर २०८१, बिहिबार

त्रिसट्ठी हजार घरपरिवारमा स्मार्ट फोन

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, चैत १८ गते । काभ्रेपलाञ्चोक जिल्लामा स्मार्ट फोन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेका संस्थागतबाहेकका कुल ९१ हजार ३३० घरपरिवारमध्ये ६९ दशमलव ८ प्रतिशत अर्थात् ६३ त्रिसट्ठी हजार ७८१ घरपरिवारले स्मार्ट फोन प्रयोग गर्ने गरेको पाइएको छ। 

जिल्लामा मोबाइल फोन (साधारण) प्रयोग गर्ने परिवारको सङ्ख्या ७९ दशमललव ८ प्रतिशत अर्थात् ७२ हजार ८८५ रहेको छ। तथ्याङ्कअनुसार जिल्लामा तीन हजार ५७६ घरपरिवारले ल्यान्डलाइन टेलिफोन, ५२ हजार ५८६ घरपरिवारले टेलिभिजन, २८ हजार ४३३ घरपरिवारले रेडियो, १२ हजार ९२४ घरपरिवारले कम्प्युटर/ल्यापटप प्रयोग गर्ने गरेका छन्। 

त्यसैगरी ३४ हजार ७९२ घरपरिवारले इन्टरनेटको सुविधा, तीन हजार ८५ परिवारले कार/जिप/भ्यान, २० हजार ४५७ घरपरिवारले मोटरसाइकल/स्कुटर, तीन हजार ७९६ घर परिवारले साइकल प्रयोग गर्ने गरेका छन्। त्यसैगरी २० हजार ७१४ घरपरिवारले विद्युतीय पङ्खा, १६ हजार ४३५ घरपरिवारले रेफ्रिजेरेटर र २६३ घरपरिवारले एयर कन्डिस्नर प्रयोग गर्ने गरेको उल्लेख छ। 

जनगणनाको तथ्याङ्कअनुसार ८७ हजार ४७६ घरपरिवारसँग रेडियो, टेलिभिजन, मोबाइल फोन, इन्टरनेट सुविधा, साइकललगायतका कम्तीमा एउटा साधन उपलब्ध छ। त्यसैगरी तीन हजार ८५४ घरपरिवारमा रेडियो, टीभी, मोबाइल, साइकललगायतका कुनै पनि साधन उपलब्ध नभएको तथ्याङ्कमा उल्लेख छ।