• ११ असोज २०८१, शुक्रबार

आर्थिक समस्या समाधान गर्न राज्यसंयन्त्र लाग्नेछ : अर्थमन्त्री महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १७ गते । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सबै राज्यसंयन्त्र लागेर समाधान गर्ने बताउनुभएको छ । पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालयमा शुक्रबार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले त्यस्तो बताउनुभएको हो । 

मुलुकको अर्थतन्त्र विभिन्न असरका कारण सङ्कटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उहाँले बताउनुभयो । अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उहाँले चर्चा गर्नुभयो । 

राजश्व र कर सङ्कलनका लागि सरकारले करकाप नगर्ने उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रलाई आन्तरिक रूपमा चलायमान बनाउन मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताउनुभयो । लघुवित्त र सहकारीमा समस्यामा रहेको भन्दै राष्ट्र बैङ्कसँग समन्वयगरी सहकार्य गरेर समस्या समाधान गर्ने उहाँले बताउनुभयो । 

अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बदल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । सङ्कटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । 

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाहसम्बन्धी समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो । सरकारको नगद प्रवाहअनुसार हरेक महिनामा भएको आम्दानी र खर्चको स्टेटमेन्ट तयार गर्नुपर्ने बताउनुभयो ।