• ७ मंसिर २०८१, शुक्रबार

मातृ मृत्युदर

एक लाखमा १५१ जना मातृ मृत्यु

blog

काठमाडौँ, चैत १७ गते । नेपालमा प्रतिलाख १५१ जना आमाको सुत्केरी अवस्थामा मृत्यु हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा मातृ मृत्यु हुने गरेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा सम्पन्न अध्ययनले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ रहेको हो । उक्त अध्ययनले मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको देखाएको छ । 

मातृ मृत्यु भएका महिलाहरूमध्ये झन्डै आधा (४७ प्रतिशत) महिलाहरूको मृत्यु लुम्बिनी र मधेस प्रदेशमा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये १० प्रतिशत महिलाहरूको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ । 

२७ प्रतिशतको मृत्यु रक्तस्राव

उक्त अध्ययनले सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिँगटा लाग्ने÷बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो । मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला÷परिवारले मृत्यु हुनु पूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको पाइयो । उपचार लिन नखोज्नेहरू मध्ये झन्डै आधा (४८ प्रतिशत) ले यसलाई आवश्यक नठानेको पाइयो । मातृ मृत्युको प्रमुख कारणहरूमा गैर प्रसूतिजन्य जटिलता (अप्रत्यक्ष कारण) (३२ प्रतिशत), प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव (२६ प्रतिशत) र उच्च रक्तचापजन्य समस्या (१२ प्रतिशत) रहेको पाइएको छ । 

अधिकांश महिलाको मृत्यु स्वास्थ्य संस्थामा 

उक्त अध्ययनमा अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ । प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गराएका र प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलाहरू मध्ये ४५ प्रतिशत महिलाले प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच गराएको पाइएको छ । 

प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिला मध्ये अधिकांश (७६ प्रतिशत) महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरूमध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । 

पाँच प्रतिशत मृत्युको कारण गर्भपतन

पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो । गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैर प्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग सम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको पाइयो । प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तीन चौथाइभन्दा बढी (७८ प्रतिशत) महिलाहरूको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको पाइयो । 

सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये ३१ प्रतिशत महिलाको मृत्युको कारण प्रसूति अवस्थाको रक्तस्राव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैर प्रसूति जटिलता रहेको पाइयो  । गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने “तीन ढिलाइ” लाई हेर्दा उपयुक्त स्वास्थ्य सेवा खोज्नमा ढिलाइ (५७ प्रतिशत), उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ (३३ प्रतिशत) र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ (४० प्रतिशत) रहेको पाइयो । यी “तीन ढिलाइ” मध्ये अधिकांश मृतक महिला (७४ प्रतिशत) को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो भने १७ प्रतिशत महिलाले तीन वटै ढिलाइ भोगेका थिए । 

यसरी भएको थियो अध्ययन 

यस अध्ययनबाट प्राप्त तथ्य र प्रमाणहरूले राष्ट्रिय तथा प्रादेशिक तहमा तथ्यपरक नीति निर्माण गरी मातृ स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयबिच भएको सम्झौता बमोजिम राष्ट्रिय जनगणना, २०७८ का गणकहरूले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्याङ्क सङ्कलन गरेका थिए । 

अध्ययनको पहिलो चरणमा जनगणनामा खटिएका गणकले १५–४९ वर्ष उमेर समूहका प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका महिलाको मृत्यु सूचना फाराम भरी सुपरिवेक्षकलाई बुझाएका थिए र उक्त मृत्युको सूचना तोकिएका तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई दिएका थिए । 

अध्ययनको दोस्रो चरणमा तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीले प्रत्येक मृतक महिलाको घरपरिवारमा गई मृत्युको सूचना फाराममा रहेको जानकारीको पुनः प्रमाणीकरण र गर्भावस्थासँग सम्बन्धित मृत्युको पहिचान गरेका थिए । यसरी पहिचान गरिएको प्रत्येक गर्भावस्थासँग सम्बन्धित मृत्युको विस्तृत विवरण स्वास्थ्यकर्मीले भर्बल अटप्सी (मौखिक जाँचबुझ) फाराम मार्फत सङ्कलन गरेका थिए । भरिएका भर्बल अटप्सी फारामको आधारमा विषय विज्ञद्वारा मातृ मृत्युको कारण पत्ता लगाइएको थियो । 

२०३० सम्म ७० झार्ने लक्ष्य

दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ । विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ र २०३० सम्ममा ७० पुर्याउने प्रतिबद्धता जनाएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।