चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
मिक्वाखोला गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको खुला ब्याडमिन्टन प्रतियोगितामा खेलाडीलाई चार समूहमा वर्गीकरण गरी सहभागी गराइएको छ । आयोजकका अनुसार पुरुष डबल्स सिनियर ‘ए’, पुरुष डबल्स सिनियर ‘बी’, कर्मचारी र भेट्रान्स (४५ वर्षमाथि) समूह रहेका छन् ।
पुरुष डबल्स सिनियर ‘ए’ र ‘बी’ तर्फ क्रमश: ७ र २४ टोली, कर्मचारीतर्फ १६ टोली र भेट्रान्सतर्फ ६ टोली (जोडी) ले सहभागिता जनाएका मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेता र उपबिजेताले क्रमश: पुरुष डबल्स सिनियर ‘ए’ ४५ हजार र ३० हजार, ‘बी’ तर्फ ३५ हजार र २५ हजार, कर्मचारीतर्फ ३५ हजार र २५ हजार तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपियाँ पाउनेछन् ।
उक्त नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्रसमेत पाउने आयोजक मिक्वाखोला गाउँपालिकाले जनाएको छ । यता प्रतियोगिताको उद्घाटन भने कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रदेश सांसद हाङ्गामले जिल्लाको खेलकुद विकासमा प्रतियोगिताले टेवा पुग्ने विश्वास लिनुभयो । ब्याडमिन्टन विधाको खेलले मानिसको स्वास्थ्यलाई तन्दुरुस्त राख्नमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उद्घाटनमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामालगायतको सहभागिता रहेको थियो । प्रतियोगिता बिहीबार सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।