• २० वैशाख २०८१, बिहिबार

लैङ्गिकमैत्री योजना तथा बजेटबारे जनप्रतिनिधिलाई जानकारी

blog

कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, चैत १५ गते । मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायको जीवनशैलीमा रूपान्तरणका लागि रत्यौली युवा क्लबले सञ्चालन गरेको सामाजिक आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत जनकपुरधाममा एक दिने अभिमुखी कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि र सरोकारवालालाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारेमा जानकारी गराइएको छ ।  

पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र विभिन्न महिला समूहका पदाधिकारी एवम् प्रतिनिधि सहभागी रहेको सो कार्यक्रममा विभिन्न समुदाय एवम् जातजातिका लागि संविधानले तोकेको अधिकारको कार्यान्वयन गर्न जनप्रतिनिधि इमान्दार भएर कामकाज गर्नुपर्ने भनिएको छ । 

स्थानीय सरकार सञ्चालन निर्देशिकामा हरेक विषय समावेश गरिए पनि धेरैजसो पालिकाले अझै पनि त्यसको कार्यान्वयन गर्न नसकेको र त्यसको असर महिला, बालबालिका, दलित तथा सीमान्तकृत समुदायलाई बढी पर्नेगरेको सहभागीले बताएका छन् । 

परियोजनामार्फत जनप्रतिनिधिलाई लैङ्गिकमैत्री योजना, नीति तथा बजेटबारे जानकारी दिनुको साथै दलित र सीमान्तकृत समुदायका व्यक्तिलाई सीपमूलक तालिम, उनीहरूका लागि संविधानमा उल्लेख भएका अधिकारबारेमा जानकारी, जीविकोपार्जनका लागि उनीहरूले गर्ने व्यवसायमा अनुदान सहयोग दिने कार्यक्रम रहेको रत्यौली युवा क्लबका निर्देशक वैद्यनाथ चौधरीले जानकारी दिनुभयो । 

निर्देशक चौधरीका अनुसार स्थानीय आवश्यकताको पहिचान गरी ती आवश्यकताको परिपूर्तिका लागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो । कार्यक्रममा लक्ष्मिनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा, सोही गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादव सहितले धारणा राख्नुभयो ।