• २० वैशाख २०८१, बिहिबार

मिटरब्याज पीडितको आन्दोलनमा मधेश सरकारको ऐक्यबद्धता

blog

मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, चैत १५ गते । 
न्याय खोज्दै महोत्तरीको बर्दिवासकाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितको आन्दोलनमा मधेश प्रदेश सरकारले ऐक्यबद्धता जनाएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै ऐक्यबद्धता जनाउनु भएको हो ।

उहाँले पैदल हिँडेर काठमाडौं पुग्नुभएका र काठमाडौं पुग्न नसकी घरमै उकुसमुकुसमा पर्नुभएका मिटरब्याज पीडित दाजुभाइ दिदीबिहनीहरुको समस्याप्रति गम्भीर रहेका छै । 

मुख्यमन्त्री यादवले भन्नुभयो, ‘‘ठूलो वेदना बोकेर काठमाडौं पुग्नुभएका मिटरब्याज पीडित हाम्रा दाजुभाइ दिदीबहिनीहरू ! तपाईँको हरेक पाइलामा हाम्रो साथ छ, तपाईँको आँसुको हरेक थोपामा हाम्रो पनि सरोकार र दायित्व छ । हामी जिम्मेवारीबाट भाग्न सक्दैनौँ ।’’

‘‘मधेशबाट उठेपनि यो समस्या देशकै हो । एकातिर बैङ्कले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरूमा अत्याचार नै गर्ने द्रव्य पिचाशी प्रवृत्ति देखिएको ।,’’ मुख्यमन्त्री यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘शोषणविरुद्ध केन्द्र, राष्ट्र बैङ्क तथा प्रदेश समेतले मिलेर संयुक्तरुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको छ । जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । बैङ्कले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभरुपमा ऋण प्रवाह हुनुपर्दछ ।’’

मुख्यमन्त्री यादवले सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गर्नुभयो ।

‘‘यसै सन्दर्भमा केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको हामी स्वागत गर्दछौँ । तथापि, यसले समग्र समस्यालाई कति सम्बोधन गर्नेछ, गम्भीर भएर सोच्न जरुरी छ ।,’’ उहाँले भन्नुभयो, ‘‘विदेश जान वा अध्ययन गर्न वा अन्य भैपरी गर्जो टार्न ऋण खोज्न नागरिकलाई मिटरब्याजहरुबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’’