• २८ वैशाख २०८१, शुक्रबार

रुपन्देहीबाट १८ हजार विद्यार्थीले एसइई परीक्षा दिँदै

blog

फाइल तस्बिर

छविलाल पाण्डे
बुटवल, चैत १५ गते । 
यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अनुसार १७० सामुदायिक र १६८ संस्थागत विद्यालय गरी ३३८ विद्यालय, खुला प्राविधिकतर्फ १२ वटा विद्यालयका ४४२ विद्यार्थी, ग्रेडवृद्धिका ४७१ जना र नियमित विद्यार्थी १७ हजार ८७१ गरी कूल १८ हजार ८५० जना विद्यार्थीले परीक्षा दिने भएका हुन् ।

परीक्षाको तयारीकै क्रममा जिल्लास्तरीय परीक्षा समन्वय समिति रुपन्देहीले एसइई परीक्षाका केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण तालिम दिएको छ ।

उक्त अभिमुखीकरण तालिम कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रुपन्देही जिल्लाको एसइई परीक्षालाई व्यवस्थित गर्न पालिकाहरूसँग समन्वय गरेर हेल्थडेस्क व्यवस्थापनमा पहल गर्ने र सबैको प्रभावकारी समन्वयबाट परीक्षा सञ्चालन गर्ने बताउनुभयो ।

जिल्लास्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले परीक्षालाई शान्तिपूर्ण र मर्यादित गराउनु पर्ने र परीक्षा केन्द्रमा कसैलेपनि अनुगमनको नाममा फोटो खिच्ने र भिडियो बनाउन नपाइने जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख तथा जिल्लास्तरीय परीक्षा समन्वय समितिका सदस्यसचिव दीपेन्द्र ढकालले विद्यार्थीहरूले परीक्षामा प्रवेशपत्र अनिवार्य साथमा लैजानुपर्ने, विद्यार्थीहरू विद्यालय ड्रेसमा हुनुपर्ने, परीक्षा केन्द्रमा अनुगमनकर्तालाई प्रवेशपत्र विना प्रवेश गर्न नदिने, उत्तरपुस्तिका थैलामा राख्दा तीन सयभन्दा बढी राख्न नहुने, रुपन्देही जिल्लाको परीक्षा शून्य ध्वनि प्रदूषण र चिटिङलेस बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत विश्वकर्माले परीक्षाको समयमा सुरक्षा व्यवस्था मिलाउने बताउनु भयो ।

जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अध्यक्षतामा जिल्ला समन्वय समिति रुपन्देहीका शाखा अधिकृत विष्णुप्रसाद वेल्वासेको सञ्चालनमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा ५६ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो ।