• १४ वैशाख २०८१, शुक्रबार

दुषित पानीले फैलिएको झाडापखला नियन्त्रणमा

blog

शवले दुर्घन्धित बनेको पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्की । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १५ गते । 
तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा दूषित पानीका कारण फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । ६५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लास सडेका अवस्थामा फेला परेको थियो । जसका कारण स्थानीयवासी झाडापखाला फैलिएको थियो ।

दूषित पानीका कारण फैलिएको झाडापखाला पूर्ण रूपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

‘‘उपभोक्ता बिरामी भएको खबर पाएपछि स्वास्थ्यकर्मीसहित गाउँमै पुग्यौँ हाल सबैलाई निको भएको छ,’’ अधिकारीले भन्नुभयो ।

उपभोक्ताले ट्याङ्कीमा शव देखेपछि मनोविज्ञानमा असर परी अधिकांशले वान्ता गर्ने गरेको र सबै जना बिरामी भएकोमा हाल सामान्य अवस्थामा फर्किएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘ट्याङ्कीमा शव भेटिएपछि घिन मानेर अधिकांशले बान्ता गरेका थिए अहिले सामान्य अवस्थामा आएको छ’’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । तत्कालका लागि मलुको पानी दुर्गन्धित ट्याङ्की नराखी नयाँ अस्थायी पाइप लाइनबाट आठ स्थानमा वैकल्पिक सार्वजनिक धारा व्यवस्था गर्ने कार्य पालिकाले गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।

‘‘तत्कालका लागि खानेपानीको समस्या समाधान गर्न दुई हजार लिटर क्षमता ४ वटा पानी ट्याङ्की राखेर वितरण सार्वजनिक धाराबाट वितरण गर्ने गरी काम भइरहेको छ,’’ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्याङ्कीको ढकन खोलेर चेक गर्ने क्रममा लास देखेर प्रहरीमा खबर गरेका थिए । घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा आइतबार शव फेला परेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

७० लाखको लागतमा सो आयोजना योजना निर्माण गरिएको दुई लाख २५ हजार घन मिटर क्षमताको पानी ट्याङ्कीमार्फत उपभोक्तालाई पानी वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।  पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षीय शान्ता श्रेष्ठको शव दुर्गन्धित अवस्थामा ट्याङ्की भित्र भेटिएपछि गाउँवासीले प्रहरीलाई खबर गरेका थिए ।