• १५ चैत २०८०, बिहिबार

तनहुँ–१ को उपनिर्वाचनमा ७६० कर्मचारी परिचालन गरिने

blog

निर्वाचन सम्बन्धी जानकारी दिनुहुँदै जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत १५ गते । 
आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने भएको छ । आवश्यक निर्वाचन सामग्रीसहित क्षेत्र नम्बर १ मा पर्ने पाँच वटा पालिकामा उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रमुख ढकालले ६९ मतदानस्थलका १५२ मतदान केन्द्रका लागि मतदान एक जना अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी परिचालन गर्न लागिएको बताउनुभयो ।

ढकालका अनुसार तनहुँ १ मा देवघाट गाउँपालिकाका पाँच वटा वडामा ८ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र, आँबुखैरेनी गाउँपालिकामा ६ वटा वडामा नौ वटा मतदान स्थल र १७ वटा मतदान केन्द्र, बन्दीपुर गाउँपालिकामा ६ वटा वडामा ११ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्रमा कर्मचारी खटिनेछन् ।

यसैगरी, भानु नगरपालिकाको १३ वटा वडामा २१ वटा मतदान स्थल, व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ बाहेक १२ वटा वडाका २० वटा मतदान स्थलमा ४८ वटा मतदान केन्द्रमा कर्मचारी खटिनेछन् ।

उपनिर्वाचनका लागि आवश्यक कर्मचारीहरूको विवरण लिने काम भइरहेको कार्यालयको सूचना अधिकारी धिरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानले सुरक्षा व्यवस्था मिलाउने भएकाले म्यादी प्रहरी आवश्यक नपर्ने कार्यालयले जनाएको छ ।

ढकालले निर्वाचन आयोगमा निर्वाचनका लागि आवश्यक ६१ प्रकार सामग्री कति आवश्यक पर्छ त्यसको विवरण सङ्कलन भइरहेको बताउनुभयो । उपनिर्वाचनका लागि चैत्र १८ गते सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिको भवनमा निर्वाचन आयोगको कार्यालय स्थापना हुने, चैत २० गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । यसैगरी, चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी निर्वाचन चिन्ह प्रदान गरिने तालिका आयोगको छ ।