काठमाडौं, चैत १४ गते। मिटरब्याजी पीडितको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ऐक्यबद्धता जनाउनुभएको छ।
मंगलबार बानेश्वरको विरोध प्रदर्शनमा मिटरब्याजका पीडितलाई भेट गर्नुहुँदै उहाँले पीडितले उठाएको आन्दोलन जायज भएको र यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो।
नेता खनालले भन्नुभयो, “तापाईंहरुमाथि अन्याय भएको छ। यो अन्याय सच्चिनुपर्छ। तपाईँहरूले चलाएको आन्दोलनलाई समर्थन गर्छौँ। यो आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता जनाउन चाहन्छौँ।”
प्रधानमन्त्रीलाई भेटेर यो समस्या सम्बोधनका लागि ध्यानाकर्षण गराइने भन्नुहुँदै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीलाई भेटेर पनि यो कुरा भन्छौँ। तपाईँहरूको कुरा सुनियोस्। जायज माग तुरुन्त पुरा गरियोस्।”
उहाँले २०६२/६३ को आन्दोलनबाट प्राप्त परिवर्तन जनताको निम्ति भएको तर, यो शोषकका निम्ति नभएको उल्लेख पनि गर्नुभयो। “आवश्यक परेछ भने नयाँ ऐन पनि बनाउनुपर्छ, तपाईँहरूको हक र अधिकारलाई संरक्षण गर्नुपर्छ”, उहाँले मिटर ब्याज पीडितको समग्र छानबिन गरेर नयाँ नीति बनाउनुपर्ने भनाइ राख्नुभयो।