• १२ मंसिर २०८१, बुधबार

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

blog

आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउँदै वालिङ ५ पाडेथोकका किसान । तस्बिर : रासस

वालिङ, चैत १४ गते । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो । बजारसम्म पुग्न गोरेटो बाटोसमेत राम्रो थिएन सडक सञ्जाल त परेको कुरा थियो ।

वालिङ बजारबाट उत्तर पूर्वी भेगमा रहेको अग्लो पहाड पित्लेक र त्यसको काखमा कृषि कर्ममा रमाइरहेको पाडेथोकमा पिउने पानीको समस्या पनि उत्तिकै थियो । सिँचाइका लागि वर्षाको पानी सङ्कलनका लागि पोखरी निर्माण गरिएका थिए । यसको समाधानका लागि खानेपानी लिफ्टिङ गरेर गाउँमा ल्याइयो ।

त्यसपछि मौसमी तथा बेमौसमी तरकारी, फलफूल उत्पादनमा सहजीकरण गर्न स्थानीय किसानको अगुवाइमा जनकल्याण कृषि सहकारी संस्था स्थापना भयो । सहकारीमा आवद्ध एकसय ४२ घरधुरीमध्ये ७२ घरधुरीले व्यावसायिक तरकारी उत्पादन गर्न थाले । उत्पादन बढेसँगै बजारीकरणकोे समस्या पनि बढ्दै गयो । स्थानीयले उत्पादन गरेको कृषि उपजको बजारीकरणको सहजताका लागि विसं २०७४ मा बिना विद्युतीय ग्राभिटी रोपवे निर्माण भई सञ्चालनमा आयो ।

वालिङ ५ पाडेथोक नजिकै रहेको सल्लाघारीबाट वालिङ १ त्रियासी जोड्न गरी रोपवे निर्माण भएको थियो । कृषि विकास मन्त्रालय व्यावसायिक कृषि तथा व्यापार आयोजनाको रु २४ लाख ४५ हजार र रु ३१ लाख ६० हजार बराबरको स्थानीयको जनश्रमदानमा पित्लेक–खहरे ग्राभिटी रोपवे सञ्चालन गरिएको सहकारीका व्यवस्थापक हुमनाथ लामिछानेको भनाइ छ ।

सल्लाघारीदेखि खहरेसम्म आठ सय ५४ मिटर लम्बाइको रहेको विना विद्युतीय ग्राभिटी रोपवेको भारवहन क्षमता एकसय २० किलोको छ । माथिल्लो स्टेशनबाट एकसय २० किलो तौल तल्लो स्टेशनमा पठाउँदा तल्लो स्टेशनबाट ३० किलोको तौल माथिल्लो स्टेशनसम्म पठाउन सकिन्छ ।

“यहाँका व्यावसायिक किसानले उत्पादन गर्नुभएको मौसमी तथा बेमौसमी तरकारी, फलफूल ढुवानीको भरपर्दो माध्यम रोपवे बन्यो”, उहाँले भन्नुभयो, “रोपवेको विकल्प थिएन, सस्तो र सहज थियो तर पछिल्लो एकवर्ष गाउँसम्म आउने बाटो कालोपत्र भई सडक सञ्जालले जोडिएपछि रोपवे वैकल्पिक साधनकोरुपमा प्रयोग थालेको छ ।”

गाउँबाट वालिङ तथा आसपासका अन्य बजारमा गाडी जाने र सोही गाडीमा यहाँका किसानले उत्पादन भएको कृषिजन्य उपज पठाउने गरेका छन् । “सल्लाघारीसम्म बोकेर पु¥याउनुपर्ने र त्यहाँबाट लोड गरी र तल्लो स्टेशनबाट फेरि लोड गरी सम्बन्धित व्यापारीकहाँ पुर्‍याउनुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले घरैबाट सवारीधनीहरुले उठाएर लगिदिने र आफैले बजारमा चलेको मूल्यअनुसार बिक्री गरी साँझ घरमै पैसा ल्याई बुझाइदिने गरेकाले अहिले यहाँका किसानलाई निकै सहज भएको छ ।”

रोपवेमार्फत ढुवानी गर्दा प्रतिकेजी रु एक शुल्क लिने गरिएको थियो । गाडीबाट ढुवानी हुन थालेपछि गत एक वर्षदेखि रोपवे खासै प्रयोगमा आएको छैन । प्रयोगमा नआए पनि ढुवानी गर्ने वैकल्पिक साधनकोरुपमा समय–समयमा मर्मत सम्भार कार्य भने निरन्तर भइरहेको व्यवस्थापक लामिछानेको भनाइ छ ।

पाडेथोकका व्यावसायिक किसान यज्ञप्रसाद लामिछानेले अहिले गाउँबाटै बजार जाने गाडीमार्फत कृषि उपज ढुवानी गर्नुहुन्छ । सवारी धनीले घर–घरबाटै कृषि उपज उठाएर बजार लैजाने र बिक्री गरेर हिसाब घरमै ल्याएर बुझाइदिने गरेकाले सहजता भएको उहाँले बताउनुभयो ।

“गाउँबाट बिहानमा दैनिक दुईवटा जीप वालिङ तथा आसपासका बजारमा जान्छन्”, उहाँले भन्नुभयो, “गाडीधनीले हामीले घर–घरमा तौलेर राखेका कृषि उपज बजार लैजान्छन् र चलनचल्तीको मूल्यमा बिक्री गरी साँझ आएर हिसाब दिन्छन्, त्योबापत प्रत्येक किसानले प्रतिकेजी रू दुई ढुवानीबापत दिन्छौंँ ।”

गाउँबाट बजारसम्म जाने गाडीलाई आम्दानी पनि र किसानलाई सहजता पनि हुने गरेको छ । “कोही ब्यापारीले माग गरेमा गाडीवालाले त्यहाँसम्म पनि सोही मूल्यमा ढुवानी गरिदिन्छन्”, उहाँले भन्नुभयो, “नभए उनीहरुले जहाँ पनि बिक्री गरेर हामीलाई हिसाब दिन्छन्, झट्ट हेर्दा कृषि एम्बुलेन्सको काम भएको छ ।”

मौसमी तथा बेमौसमी गोलभेडा, तरकारी, सुन्तला, कागती लगायतका कृषिजन्य उत्पादन गरी गाउँमा करोडौँ आम्दानी भित्रिने गरेको छ । धेरै लामो समयदेखि ठूलो सङ्ख्यामा यहाँका किसानले व्यावसायिक रुपमा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । यहाँको मुख्य आम्दानीको स्रोत नै मौसमी तथा बेमौसमी तरकारी र फलफूल रहेको जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष नीलकण्ठ लामिछानेले बताउनुभयो । रासस