• १६ चैत २०८०, शुक्रबार

चट्याङ्ग : सहरको तुलनामा गाउँमा धेरै जोखिम

blog

विष्णु पाण्डेय 

काठमाडौ, चैत्र १३ गते । प्रि मनसुन सुरु भएसँगै देशभर मौसम बदली हुनाको साथै चट्याङ्ग पनि पर्न थालेको छ । नेपाल विश्वमा चट्याङ्ग पर्ने चौथो उच्च जोखिममा छ । गृह मन्त्रालय अन्तर्गत रहेको विपत् व्यवस्थापन पोर्टलको तथ्यांकअनुसार गत सात दिनमा नेपालमा चट्याङ्ग लागेर मृत्यु हुनेको सङ्ख्या २१ छ ।

देशका विभिन्न ठाउँमा परेको चट्याङ्गबाट उक्त सङ्ख्यामा मानिसको मृत्यु भएको हो । नेपालमा २०६८ सालदेखि हालसम्मको तथ्यांकअनुसार भूकम्पपछि सबैभन्दा बढी मृत्यु हुने कारण चट्याङ्ग रहेको छ ।

अमृत साइन्स क्याम्पसका चट्याङविद् सहप्राडा श्रीराम शर्माका अनुसार प्रत्येक वर्ष चट्याङ्ग लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै छ ।

नेपालमा वैशाख र जेठ महिनामा सबैभन्दा बढी चट्याङ्ग पर्ने उहाँ बताउनुहुन्छ । “अहिले प्रि मनसुन सुरु भइसकेकाले साँझपख चट्याङ्ग पर्ने सम्भावना ज्यादा रहन्छ । यो प्रक्रिया वैशाख र जेठमा अझ बढी हुने गर्दछ,” उहाँले भन्नुभयो ।

प्राकृतिक विपत्तिलाई रोकेर नरोकिने भए पनि सम्भावित जोखिमलाई भने रोक्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चट्याङ्ग जस्तो प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन । तर बेलैमा संयमित हुन सके  ठूलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।”

कालो, सेतो मडारिएको बादल बन्दा प्रायः चट्याङ्ग पर्ने सम्भावना हुन्छ । विकसित देशहरूमा चट्याङ्गको पूर्वानुमान गर्न सक्ने उपकरणहरू बनिसकेकाले धेरै देशहरूले यसको प्रयोगबाट क्षति न्यूनीकरण गर्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, कुनै ठाउँमा कालो, मडारिएको बादल देखा पर्‍यो भने त्यस ठाउँमा चट्याङ्ग पर्न सक्ने उच्च सम्भावना हुन्छ । यस्तो समयमा मानिसलाई सुरक्षित रहन सूचना प्रवाह गर्न सकियो भने धेरै जन धनको क्षति हुँदैन ।

नेपालमा पनि यस्तो यन्त्र खरिद गरी सरकारले चट्याङ्गबाट हुने जोखिमलाई न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ । सहरको तुलनामा गाउँमा बढी क्षति चट्याङबाट सहरको तुलनामा गाउँमा बढी क्षति हुनेगरेको चट्याङविद् शर्मा बताउनुहुन्छ ।

गाउँका घरहरू कच्ची हुने गरेको र घरमा फलाम वा फलामजन्य वस्तु प्रयोगबाट घरहरू नबनेकाले गाउँका घरहरूमा चट्याङको बढी जोखिम हुने गरेको हो ।

सहरका घरहरू फलामको प्रयोगले बनेका हुन्छन् । जो जमिनसँग गाडिएका हुन्छन् । यस्तो ठाउँमा चट्याङ्ग पर्दा कम जोखिम हुन्छ । तर गाउँका घरहरू इँटा, ढुंगााको प्रयोगले मात्र बन्ने भएकाले बढी जोखिम हुन्छ ।

चट्याङ पर्दा प्रवाह हुने करेन्ट जमिनमा जानका लागि स्रोतको आवश्यकता पर्ने भएकाले सहरका घरमा प्रयोग भएका फलामजन्य वस्तुले ठूलो मद्दत गर्ने उहाँको भनाइ छ । सहरमा प्रयोग भएका फलामे छडहरूले जमिनमा विद्युत प्रवाह गर्न मद्दत गर्ने भएकाले जोखिम कम गर्ने उहाँको भनाइ छ । देशभर चट्याङ्गबाट मृत्यु हुनेमध्ये सहरको तुलनामा गाउँमा २५ प्रतिशत बढी रहने गरेको उहाँको भनाइ छ ।

खुल्ला ठाउँमा बस्नु खतरा 

चट्याङ्ग परेको समयमा खुल्ला ठाउँमा बस्नु झन् खतरा हुने शर्माको भनाइ छ । धेरै मानिसहरू चट्याङ्ग परेको समयमा घरबाहिर बस्दा झन् सुरक्षित होइन्छ भन्ने गलत मानसिकता राख्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै मानिसहरू चट्याङ्ग परेको समयमा बाहिर नै बस्दा सुरक्षित महसुस हुने गलत सोचाइ राख्ने गरेका छन् । तर बाहिर भन्दा घरभित्र नै बस्नु सुरक्षित हुन्छ । खुल्ला स्थानमा चिसो स्थानमा उभिनु पनि उत्तिकै खतरनाक हुने उहाँको भनाइ छ ।

कसरी पर्छ चट्याङ ?

चट्याङविद् शर्माका अनुसार सूर्यको तापक्रमले तातिएको जमिनको सतह तथा जलाशयबाट पानीका कण बाफ बनेर उड्दै आकाशमा पुग्छन् । पानीका कण वाष्पीकरण भएर आकाशमा पुगेपछि बन्ने बादललाई हावाले गतिमान बनाउँछ। गतिमान बादलभित्र पानीको बाफ विभिन्न तह र तापक्रममा बसेका हुन्छन्।

बादलको तह बाक्लो भएर प्रकाश छिर्न नसक्ने भएपछि यो कालो देखिन्छ । तापक्रमको भिन्नताका कारण कालो बादलको एक तहमा पानी हुन्छ भने अर्को तहमा बरफ र तिनीहरू ब्याट्रीका फरक दुई ध्रुव जस्तो धनात्मक र ऋणात्मक दुई भागमा बाँडिएर बस्छन्। तिनीहरूबीच घर्षण उत्पन्न भएर विद्युतीय चार्ज उत्पन्न हुन्छ।

जब चार्जको मात्रा बढ्दै जान्छ, त्यो बादलले धान्न नसकेर चट्याङको रूपमा विद्युतीय लहर आफ्नै बाटो बनाएर पृथ्वीको सतहसम्म आइपुग्छ। यद्यपि सबै चट्याङ पृथ्वीसम्म आइपुग्दैनन्। आइपुग्नेमध्ये पनि केहीले नोक्सानी गर्छन्। चट्याङ्वीद डा। शर्मा करिब एक तिहाइ मात्रै चट्याङ जमिनमा आइपुग्ने र बाँकी बादलमै सीमित रहने बताउनुहुन्छ ।