• १३ वैशाख २०८१, बिहिबार

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

blog

महोत्सव बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर : गोरखापत्र

श्यामशंकर पाण्डे

लुम्बिनी, चैत १२ गते । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनको आयोजनामा यही चैत ३० गते हुने उक्त महोत्सव भैरहवाको देवकोटा चोकमा हुनेछ ।

एक दिने कार्यक्रममा भारतीय पर्यटकहरूलाई पनि निमन्त्रण गरी कोभिड–१९ पछि नेपाल एवं सीमा क्षेत्र भैरहवाको व्यवसाय प्रवर्द्धन गर्न उत्प्रेरित गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । 

साथै यस क्षेत्रका स्थानीय नयाँ वर्ष मनाउन अन्यत्र जाने प्रचलनलाई रोकी अन्य क्षेत्रबाट भैरहवाआई नववर्ष धूमधामका साथ मनाउन कार्यक्रमले सहयोग गर्ने सङ्गठनका अध्यक्ष पीताम्बर न्यौपानेले बताउनुभयो । 

एक सय स्टल रहने यस महोत्सवमा तारेहोटल जन्य आठ, रेस्टुरेन्ट जन्य ४० तथा थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरू रहनेछन् । कार्यक्रममा स्थानीय कला सांस्कृतिक, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरूबाट प्रस्तुति तथा डिजे रहने सङ्गठनका महासचिव राजेश महोत्राले बताउनुभयो । 

महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरूमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरूको सहभागिता रहने छ ।

यस कार्यक्रमबाट कोभिड–१९ ले थला परेको भैरहवाको पर्यटन व्यवसायलाई चलायमान बनाउने र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भएपनि राहत दिने आयोजकको विश्वास छ ।