• १३ असोज २०८१, आइतबार

संसद्‍मा कोशी प्रदेश नामाकरण आन्दोलनबारे चासो

blog

प्रतिनिधि सभाको बैठकमा कोशी प्रदेश नामाकरणको विषयमा भएको आन्दोलनबारे धारणा राख्नुहुँदै सांसद् अशोक राई ।

काठमाडौं, चैत १२ गते। जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आन्दोलनरत लिम्बुको प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएर ज्यान गएको उल्लेख गर्दै त्यस्ता खालको अमानवीय ज्यादती रोक्न सरकारसँग माग समेत गर्नुभयो। 

गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकामाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्नुभएको छ। उहाँले घटनाको विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको छ। 

सङ्घीय लिम्बुवान मञ्चका नेता समेत रहनु भएका लिम्बुको विराटनगरमा आन्दोलनको क्रममा प्रहरीको लाठी चार्जबाट टाउकोमा गम्भीर चोट लागेको थियो। उहाँले चैत्र १० गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको थियो।