• १३ असोज २०८१, आइतबार

सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार होस : सांसद खतिवडा

blog

सांसद रामहरि खतिवडा

काठमाडौं, चैत १२ गते । प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । 

उहाँले ओखलढुङ्गाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको दृष्टान्त पेस गर्दै सरकारसँग सो माग गर्नु भएको हो । सांसद खतिवडाले सबै बसहरूमा यात्रुहरूका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । 

उहाँले भन्नुभयो, ‘‘सवारी दुर्घटनामा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु । ओखलढुङ्गामा जिप र बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचार गर्न सक्ने अवस्था भएन । बसको बिमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरूलाई बिमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर आग्रह गर्न चाहन्छु ।’’

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरूलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशि खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनु भयो ।