• ७ वैशाख २०८१, शुक्रबार

चलचित्रमा एकै नामको निरन्तरता

blog

काठमाडौँ, चैत १२ गते । हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र जगत्मा पनि चलचित्र सिरिज बनाउने होड चलेको छ । निर्देशकहरू अहिले आफ्नो चलचित्रको सिरिज बनाएर सिनेमाघरमा दर्शक तान्ने प्रयत्नमा देखिनुभएको छ । एउटै नाम भएको फरक कथाको चलचित्र भए पनि नाम दर्शकको मुखमा भुन्डिसकेको हुनाले यस्ता नेपाली चलचित्रहरूले निर्मातालाई मनग्गे फाइदा पुग्ने गरेको उदाहरण नेपालमै  पनि छ । यसका कारण सिनेमाघरहरूमा नेपाली चलचित्र हेर्ने दर्शकको घुइँचो लाग्नु नै हो । केही समय सुस्ताएको चलचित्र बजार अहिले एकाएक माथि उठेको छ । चलचित्र ‘छक्का पञ्जा ४’ यसको राम्रो उदाहरण हो । 

गत फागुन १९ बाट प्रदर्शन आएको चलचित्र ‘छक्का पञ्जा ४’ ले हिजोसम्मको बम्पर कारोबार र दर्शकको सुखद प्रतिक्रिया हेर्दा यो चलचित्र लामै समय चल्ने सङ्केत देखिन्छ । यो वर्ष प्रदर्शनमा आएका सयभन्दा माथिका चलचित्रमा केही चलचित्रले मात्र लगानी उठाएर निर्मातालाई राहत महसुस गराएका थिए । चलचित्रको व्यापार हेर्दा यो क्षेत्रलाई अहिले सिरिजले मात्र धानेको देखिन्छ । फेरि सिरिजहरूलाई दर्शकले धेरै रुचाउने पनि गर्नुभएको छ । चलचित्र चल्नुको मुख्यकारण यसको ब्रान्ड नै हो, भन्नुहुन्छ कलाकार दीपकराज गिरी । चौथो सिरिजसम्म आइपुग्दा हाम्रो टिमलाई दर्शकले अझै विश्वास गरेका छन् । नाम एकै तर कथावस्तु नयाँ, नौलो र उत्कृष्ट भएकाले पनि चलचित्रले यस पटक व्यापारिक रूपमा नयाँ इतिहास बनाउन लागेको कलाकार गिरीले बताउनुभयो । 

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ ले पनि सिनेमाघरहरूमा राम्रै व्यापार गरेको थियो । लामो समयसम्म सुस्ताएको चलचित्र बजारलाई यसले पनि ठूलै राहत दिने काम गरेको थियो । ‘ए मेरो हजुर, ‘ए मेरो हजुर २’ ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ ले सिनेमाघरमा दर्शक तान्ने राम्रै प्रयास ग¥यो र सफल पनि भयो । नयाँ वर्ष वैशाख १ को दिन निर्देशक झरना थापाको नयाँ चलचित्र ‘भागवत् गीता’ प्रदर्शनको तयारीमा छ । अघिल्ला चलचित्रजस्ता यो सिरिज चलचित्र होइन त्यसैले उनको यो चलचित्र अघिल्ला चलचित्रमा जस्तै राम्रो व्यापार गर्छ÷गर्दैन त्यो हेर्न बाँकी छ । 

त्यस्तै चलचित्र नाई ‘नभन्नु ल’ देखि ‘नाई नभन्नु ल ५’ को सिरिजसम्म आउँदा निर्देशक विकासराज आचार्य असफल हुनुभएको छैन । उहाँ निर्देशित चलचित्र ‘नाई नभन्नु ल ५’ पनि सिनेमाघरहरूमा राम्रै नाफा कमाउन सफल भएको थियो । ब्रान्डभन्दा पनि दर्शकले कस्तो चलचित्र रुचाउनुहुन्छ भन्ने कुराले मुख्य मान्यता राख्ने बताउनुहुन्छ निर्देशक विकासराज आचार्य । अघिल्ला चलचित्रजस्तै नयाँ वर्षको दिन प्रदर्शनमा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ६’ ले राम्रो व्यापार गर्ने र दर्शकले चलचित्र अवश्य रुचाउनेमा आफू ढुक्क रहेको, निर्देशक आचार्यको भनाइ छ ।  

सबै चलचित्रका सिरिज चल्छन् नै भन्ने हुँदैन, भन्दै हुनुहुन्थ्यो ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा । चलचित्र ‘प्रसाद’ अन्त जहाँबाट भएको थियो त्यहीँबाट ‘प्रसाद २’ सुरु हुने निर्देशक थापाले बताउनुभयो । थापा थप्नुहुन्छ, “चलचित्रको सिरिज बनाउँदैमा यसको व्यापार ह्वात्तै बढ्छ भन्ने पनि हुँदैन । चलचित्रको कथा र दर्शकको स्वादअनुसार हामीले चलचित्र दिन सकेका छौँ कि छैनौँ भन्ने मुख्य कुरा हो ।” चलचित्र सधैँ सिरिजले मात्र चल्छ भन्ने छैन । चलचित्र बनाउनेले चलचित्र र यसको बजारलाई हचुवाको भरमा नलिई चलचित्रलाई आफ्नो पेसा–व्यवसाय बनाई स्तरीय व्यावसायिक नेपाली चलचित्रहरू निर्माण गर्ने हो भने सिरिजको आवश्यकता एकदमै कम पर्न सक्छ ।