सिराज खान
नेपालगन्ज, फागुन १२ गते । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठक आयोजना गरी सात बुँदे निर्णय गरेको छ । बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र निर्वाचन आचारसंहिताको पालनाका विषयमा विभिन्न निर्णय गर्दै ती निर्णयहरूको पूर्ण पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार यस वर्ष तराई क्षेत्रमा मनाइने होली पर्व फागुन १९ गते पर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भइसकेको सन्दर्भलाई ध्यानमा राख्दै घर–परिवार र आफन्तजनबीच मर्यादित रूपमा पर्व मनाउन अनुरोध गर्ने निर्णय भएको छ ।
बैठकले पर्व मनाउँदा तथा सन्देश प्रवाह गर्दा २०८२ पुस २२ गतेको सर्वपक्षीय बैठकले कायम गरेको सद्भावलाई निरन्तरता दिन, ध्वनि प्रदूषण नगर्न र नगराउन स्थानीय प्रशासनमार्फत आग्रह गर्ने निर्णय गरेको छ । फागुन महिनामा हुने विवाह तथा व्रतबन्धका कार्यक्रमहरूमा पनि ध्वनि प्रदूषण हुन नदिन सचेत गराउने निर्णय गरिएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता बैठकले जनाएको छ । जिल्लाको विशिष्टतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीय तहहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
बैठकले इस्लाम धर्मावलम्बीहरूको रमजान महिना प्रारम्भ भएकामा मुस्लिम समुदायलाई र नजिकिँदै गरेको फागु पूर्णिमा (होली) का अवसरमा हिन्दु समुदायलाई शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा भएको सो बैठकअघि धार्मिक अगुवासँग पनि छुट्टै छलफल गरिएको प्रशासनले जनाएको छ ।