काठमाडौं, चैत ११ गते। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषणको समस्या कम गर्न सचेतनाको खाँचो रहेको बताउनुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
जागृति बाल तथा युवा सरोकार नेपालले तयार पारेको “नेपालमा बाल पोषणको अवस्था २०७९” सार्वजनिक गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो। भन्नुभयो, ‘‘कुपोषणको समस्या कमल गर्न सचेतनाको खाँचो छ। हाम्रो समाजमा परम्परागत रूपमै गढेर बसेको छोरी र बुहारीप्रति हेर्ने दृष्टिकोण र खानामा गरिने विभेदको अन्त्य गर्नु सोचको विकास गर्नुपर्छ।’’
कुपोषणमुक्त समाज, बालबालिका राष्ट्रिय गौरवको आधार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा सुनौलो हजार दिनमा नै समग्र मानिसको विकासको आधार रहने भएकाले यसबारे गम्भीर भएर सोच्नुपर्ने बताउनुभएको छ। उक्त पुस्तकमा पोषणको अवस्था बढाउनको लागि स्थानीय तहले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले “नेपालमा बालबालिका पोषणको अवस्था” प्रस्तुतीकरण गर्नुभएको थियो। मधेश प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा पोषणको अवस्था निकै कम देखिएको उहाँको भनाइ छ।
कार्यक्रममा सहभागी विज्ञले नेपालमा महिला तथा बालबालिकाको लागि पोषणको अवस्था अपुग भएको बताएका छन्। नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवा लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोर किशोरीमा पोषणको अवस्थामा सुधार गर्नुपर्ने देखिएको हो।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले सामाजिक सुरक्षा भत्ता कति र कहिलेसम्म भन्ने विषयमा समीक्षा गर्नुपर्ने दिन आएको बताउनुभयो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश कँडेल, स्वास्थ्य मन्त्रालयको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिराखेको र विभिन्न निकायसँग समन्वय गरेर काम भइरहेको बताउनुभएको छ।