काठमाडौं, चैत ११ गते । चिकित्सकका अनुसार बालबालिकामा पनि क्षयरोग हुन सक्छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार एक वर्षमा ३७ हजार ८६१ जनामा क्षयरोग पुष्टि भएका मध्ये जन्मेदेखि ४ वर्षका उमेर समूहका ८.७ प्रतिशतमा बालबालिकामा क्षयरोग पुष्टि भएको छ ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाहका अनुसार बालबालिकामा फोक्सोको क्षयरोगका साथसाथै फोक्सो बाहेक अन्य भाग ग्रन्थि, आन्द्रा, हाड, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा आदिमा पनि क्षय रोग हुने गर्दछ ।
ज्वरो आउनु, ग्रन्थिहरू सुन्निनु, लामो समयसम्म एकनासले खोकी लाग्नु, बालबालिकामा शारीरिक वृद्धि विकास नहुनु, शरीरको तौल घट्नु बालबालिकामा हुने प्रमुख क्षय रोगका लक्षण हुन् ।
क्षयरोग भनेको के हो ?
क्षयरोग एक सरुवा रोग हो । वरिष्ठ छाती रोग विशेषज्ञ डा. शाहका अनुसार सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो ।
कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुने चिकित्सक बताउँछन् । अस्वास्थ्यकर जीवनशैली तथा खानपानका कारण पनि मानिसलाई क्षयरोगको सङ्क्रमण हुने खतरा बढ्छ ।
डा. शाहका अनुसार दुई हप्ताभन्दा बढी समय एकनास खोकी लाग्नु, खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु, राति धेरै पसिना आउनु, मुख सुक्नु, खान मन नलाग्नु, तौल कम हुँदै जानु, थकान र कमजोरी महसुस हुनु यसका प्रमुख लक्षण हुन् ।
कस्ता बालबालिका क्षयरोगको जोखिममा हुन्छन्
कमजोर प्रतिरक्षा प्रणाली भएका जस्तै एचआइभी पोजेटिभ, मधुमेह रोग लागेका, केमोथेरापी गरिरहेका, क्षयरोग सङ्क्रमित व्यक्तिसँग बस्ने वा नियमित सम्पर्कमा आउने, घरबार विहीन तथा सडक बालबालिका बढी जोखिममा हुने चिकित्सक बताउँछन् ।
बच्ने उपाए
चिकित्सकका अनुसार नवजात शिशुलाई बिसीजीको खोप दिने, क्षयरोग सङ्क्रमित व्यक्तिबाट टाढा राख्न क्षयरोग सङ्क्रमितले नियमित रूपमा औषधिको सेवन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, क्षयरोगका लक्षण देखिएमा तुरुन्तै परीक्षण गराउने यसलाई रोकथामका उपाय हुन् ।लक्षण देखिए तुरुन्त परीक्षण गर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सूचना निकाल्दै क्षयरोगको सङ्क्रमण जो कोहीलाई पनि हुने हुँदा लक्षणहरू देखिए नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गराउन आग्रह गरेको हो ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई यो रोगले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि खकारको जाँच गर्न डा. अधिकारीको सुझाव छ ।
डा. अधिकारीका अनुसार सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको निःशुल्क उपचार हुँदै आएको छ । देशैभर स्वास्थ्य संस्थाहरूमा क्षयरोगविरुद्धको अति प्रभावकारी औषधिहरू निःशुल्क उपलब्ध भएको डा. अधिकारीले जानकारी दिनुभयो ।