• २२ चैत २०८२, आइतबार

फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा

blog

फक्ताङ्लुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, चैत २२ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्नमा योगदान पुर्‍याउने कर्मचारीलाई सम्मान गरिएको पनि स्वास्थ्य शाखा प्रमुख भट्टराई जानकारी दिनुभयो । उहाँकाअनुसार सम्मानित हुने कर्मचारीलाई गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति), उपाध्यक्ष रवीन साम्रा (विकास), प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बे लगायतले सम्मान गर्नु भएको छ ।

चालू आर्थिक वर्षमा यसअघि जिल्लाका मैवाखोला गाउँपालिकालाई चैत ५ गते र आठराई त्रिबेणी गाउँपालिकालाई चैत १२ गते पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्लामा एक नगरपालिका र आठ गाउँपालिकासमेत नौ वटा स्थानीय तह रहेका छन् ।