• २७ वैशाख २०८२, शनिबार

नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषण

उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्‍नुपर्छः प्रधानमन्त्री प्रचण्ड

blog

वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, चैत ११ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ।  शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताउनुभएको हो।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ।”

प्रधानमन्त्री प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणासमेत गर्नुभएको छ। नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 

प्रधानमन्त्री प्रचण्डले नेवार समुदायका लागि खोलिने सो प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने स्पष्ट पार्नुभयो।  नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराउनुभयो।

‘‘पहिलो चोटि प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि यही वसन्तपुर डबलीबाट घोषणा गरेको थिएँ। नेवारको सभ्यता, इतिहास र संस्कृतिको अनुसन्धान गर्न एउटा अनुसन्धान समिति वा अनुसन्धान प्रतिष्ठान बनाउन जरुरी छ भन्ने सुझाव यहाँ आएको छ। यसमा मेरो ध्यान गम्भीर रूपले आकर्षित भएको छ। नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारले गरेको अनवरत सङ्घर्षप्रति मेरो उच्च सम्मान रहेको छ। त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईँहरूको अगाडि प्रतिबद्धता व्यक्त गर्दछु।’’ प्रधानमन्त्री  प्रचण्डले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदाय भित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनुभयो। 


प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:

विश्व नेवार दिवसको उपलक्ष्यमा आयोजित यस कार्यक्रममा सहभागी हुने मौका दिनुभएकोमा नेवार समुदायका तपाईँ सबै आदरणीय महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। वर्ल्ड नेवार अर्गनाइजेसनद्वारा आयोजित यस विश्व नेवार दिवसको उपलक्ष्यमा भइरहेको कार्यक्रमको सफलता र भव्यताका लागि शुभकामना व्यक्त गर्दछु।

नेपाल राष्ट्र निर्माणमा नेवार पुर्खाहरूको मुख्य र ऐतिहासिक भूमिका रहेको यथार्थ हाम्रोसामु छर्लङ्गै छ। नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु चिनाउन नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, दबली, हिटी, देवालय लगायतका सम्पदाहरू। ती सम्पदासँग जोडिएका जात्रापर्व, साहित्य सङ्गीतको सांस्कृतिक परम्पराहरू र यी सांस्कृतिक परम्परासँग जोडिएका खानपिन, भेषभुषा, सभ्य सहर र जीवनलाई चलायमान गर्ने नेवा: दर्शनमा आधारित जीवन व्यवहारहरू र यसबाट पैदा हुने राष्ट्रिय एकताको भावनाको ठूलो योगदान रहँदै आएको कुरा स्मरण गर्न चाहन्छु। विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजहरूप्रति सम्मान व्यक्त गर्नैपर्दछ।

नेवारहरूको आदिम थलो यही काठमाडौं उपत्यका हो। तर आज देशका प्रायः सबै स्थानमा नेवार समुदायको बसोबास पाइन्छ। नेपालका प्रायः सबै मुख्य सहरहरू काठमाडौं उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कारणले गएका बसाइँ सरेर गएका नेवारहरूले नै बसालेको पाइन्छ। आज भूमण्डलीकरणको जमाना छ। यसै क्रममा विश्वका कुनै पनि देशमा जाने हो भने त्यहाँ नेवार समुदायका कोही न कोहीसँग भेटघाट हुने अवस्था छ।

नेवार समुदायको एउटा विशेषताको हामी सबैले सम्मान गर्नै पर्दछ। त्यो भनेको नेवारहरू जहाँ जसरी बसे पनि नेवार संस्कृति र पहिचानलाई सामूहिकतामा मनाउँदै निरन्तरता दिने विशेषता हो। एकातर्फ यसले नेपालका अरू समुदायलाई प्रेरणा दिइरहेको छ भने अर्कोतर्फ विदेशमा नेपालको पहिचान, स्वाभिमान र गौरव बढाउने काम भइरहेको छ।

यही परिप्रेक्ष्यमा विश्वभरि छरिएर रहेका नेवारहरूबीच सहकार्य समन्वय गर्न वर्ल्ड नेवार अर्गनाइजेशन गठन गर्नु गौरवको कुरा हो। यस सङ्गठनको स्थापना भएको दिनलाई नेपालमा भइरहेझैँ विश्वभरका विभिन्न सहरहरूमा नेवा दिवसको रूपमा मनाइरहेका छन्। साथै विश्वका कयौँ सहरहरूमा नेपालबाट गएका नेपाली समुदाय सहभागी भएर यो दिवस मनाइरहेका छन्। त्यसैले ती देशहरूमा यो नेवार दिवस मात्र नभएर नेपाल दिवस बन्दै गएको अनुभूति गर्न सकिन्छ।  

चितवन र अन्य कतिपय स्थानमा जानैपर्ने भए पनि तपाईँहरूको कार्यक्रमलाई महत्त्व दिएर म उपस्थित भएको छु। यहाँ नेवाको ऐतिहासिक, संस्कृतिको अध्ययन एवं अनुसन्धानसँग सम्बन्धित धेरै बौद्धिक महानुभावहरू हुनुहुन्छ। मैले यहाँ श्रद्धेय दुर्गालाल दाइ लगायत थुप्रै अग्रजहरू देखिरहेको छु। उहाँहरूको परिचय केवल नेवार भाषा जाति मात्र होइन। उहाँहरू नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका जिउँदा दस्ताबेजहरू हुनुहुन्छ। यसका लागि आयोजक मित्रहरूलाई धन्यवाद भन्न चाहन्छु।

नेपाल जनताको त्याग र बलिदानको बलमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण चाहिँ छैन। नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न म र हाम्रो पार्टीले मुख्य सङ्घर्ष गरेको थियो। जे–जति अधिकार लेखिएका छन्, त्यसका लागि निर्णायक भूमिका खेलेको थियो। इमान्दार र निरन्तर सङ्गठित प्रयास भइरहने हो भने संविधानमा संस्थागत गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्। तसर्थ, सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने कुरा राम्रोसँग चिन्न जरुरी छ।

अन्त्यमा, विश्व नेवार दिवसको उपलक्ष्यमा यसै मञ्चबाट विश्वका विभिन्न ठाउँमा छरिएर रहनुभएका नेवारहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पहिचान र अधिकारको क्षेत्रमा तपाईँहरूले उठाउनुभएका माग र मुद्दाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै बिदा हुन्छु,धन्यवाद।