• १२ मंसिर २०८१, बुधबार

मुकेश र राजपुरालाई वीर गणेशमान स्मृति रोड रेस उपाधि

blog

उपाधि विजेता मुकेश पाल र राजपुरा पछाई । तस्बिर : सौजन्य ग्राफिक आर्ट्स

काठमाडौं, चैत ११ गते । चौथो वीर गणेशमान सिंह १० किमी रोड रेसको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाइले जित्नुभएको छ ।

दरबारमार्गस्थित शेर्पा मलमा शनिबार आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राजपुरा पहिलो हुनुभएको हो । मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेन्डमा पूरा गर्नुभयो ।

एपीएफका गोपीचन्द्र पार्की दोस्रो हुनुभयो । साबिक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेन्डमा दौड सक्नुभएको थियो । आर्मीका दस्पम अधिकारी तेस्रो हुनुभयो । अधिकारीले ३१ मिनेट ४७.४२ सेकेन्डमा पूरा गर्नुभयो । आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौँ हुनुभयो । 

महिलातर्फ उपाधि विजेता राजपुराले कोर्स रेकर्ड बनाउनुभयो । उहाँले निर्धारित दुरी ३६ मिनेट ४३.२ सेकेन्डमा दौड पूरा गर्नुभयो । पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेन्ड समयमा दौड सक्दै दोस्रो र एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । आर्मीका पूर्णलक्ष्मी न्यौपाने चौथो र एपीएफकी बिन्द्र श्रेष्ठ पाँचौँ हुनुभयो । 

प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । चौथोलाई १० र पाँचौँ हुनेलाई पाँच हजार रुपियाँ प्रदान गरियो ।

कोर्स रेकर्ड बनाउन सफल राजपुराले थप १० हजार रुपियाँ प्राप्त गर्नुभयो । गणेशमान सिंह फान्डेसन अन्तर्गत गणेशमान सिंह खेलकुद समितिले आयोजना गरेको रोड रेसमा चार सय खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाश मान सिंह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर सञ्जीव एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह लगायतले पुरस्कार प्रदान गर्नुभयो ।