• ११ मंसिर २०८१, मङ्गलबार

कपिलवस्तुमा ४२९ जना क्षयरोगी फेला

blog

विश्व क्षयरोग दिवसको अवसरमा आयोजना गरिएको पत्रकारसँग अन्तर्क्रिया । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, चैत ११ गते । चालु आर्थिक वर्ष ०७९/०८० को फागुन मसान्त सम्म कपिलवस्तुमा ४२९ जना नयाँ क्षयरोगी फेला परेका छन् । सो सङ्ख्या फोक्सो र फोक्सो भन्दा बाहिर दुवै ठाउँ गरी क्षयरोग देखिएको हो ।

विश्व क्षयरोग दिवस २०२३ का अवसरमा स्वास्थ्य कार्यालयद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय हेल्थ असिस्टेन्ट सिद्धार्थकाजी बज्राचार्यले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको सङ्क्रमण मधुमेह, एचआइभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

४२९ मध्ये फोक्सोमा लागेको ६५ प्रतिशत र १२ प्रतिशत फोक्सो भन्दा बाहिर लागेको बिरामी छन् भने २३ प्रतिशत बिरामीहरूको फोक्सो भन्दा अन्य ठाउँमा क्षयरोग लागेको भेटिएको बज्राचार्यले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा भने कपिलवस्तुमा नौ सय जना क्षयरोगी फेला परेका थिए । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वे २०७६ अनुसार प्रति लाख २२५ नयाँ क्षयरोगी फेला पर्ने दर देखाएको छ ।

त्यस हिसाबले नेपालमा कुल ६९ हजार नयाँ रोगी हुनु पर्ने देखिन्छ । तर जिल्लामा एक लाख ३० हजारमा सो सङ्ख्या देखिएको हो । विगत ५ वर्षमा नै कपिलवस्तुको क्षयरोगीको सङ्ख्या बढेको देखिन्छ ।

सरकारले मुलुकलाई क्षयरोगविहीन नेपालको परिकल्पना गरे पनि त्यो अझै साकार हुन सकेको छैन । सन् २०३५ सम्म बिरामी हुने दर र मृत्यु दरलाई घटाई रोग सर्ने प्रक्रियालाई रोकी क्षयरोगलाई प्रमुख जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिने लक्ष्य छ ।

सन २०५० सम्म १० लाखमा प्रति एक रोगी फेला पार्ने दर झार्ने लक्ष्य सरकारको छ । क्षयकुष्ठ अधिकृत माहोम्मद ईरफानले क्षयरोगीहरू अझै पनि गाउँ समाजमा लुकेर रहेकोले जिल्लाकै जनस्वास्थ्य समस्याका रूपमा देखा परेको बताउनुभयो ।

क्षयरोगको निःशुल्क जाँच र औषधि समेत सरकारी स्वास्थ्य संस्थामा पाइन्छ । तर अज्ञानता र पहुँचको अभावले क्षयरोग अझै पनि समस्याका रूपमा देखा परेको अधिकृत ईरफानले बताउनुभयो ।

दुई हप्ता भन्दा बढी खोकी लागिरहने, साँझपख मन्द ज्वरो आउने, खान नपच्नु, छाती दुख्नु, तौल घटने खकारमा रगत देखिने, थकाई लाग्ने, श्वासप्रश्वासमा गाह्रो हुने गर्दछ । छ महिनादेखि १२ महिनासम्म औषधि सेवन गरेमा यो रोग निको हुने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन श्रीधर खनालले बताउनुभयो ।