• २८ मङ्सिर २०८२, आइतबार

तीन वडाका लागि खानेपानी

blog

रामेछाप समाचारदाता

रामेछाप, चैत १० गते । मन्थली नगरपालिकाको तीनवटा वडाको घरघरमा खानेपानी धारा पु-याउने उद्देश्यले बृहत् खानेपानी आयोजना निर्माणाधीन रहेको छ। तामाकोशीको पानीलाई लिफ्ट गरेर मन्थली नगरपालिकाको वडा नं. ७, भटौली, वडा नं. ८, चिसापानी र वडा नं. ९, पुरानागाउँका दुई हजार एक सय घरधुरीलाई शुद्ध पिउनेपानी पु-याउन सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजनामार्फत यो आयोजना सञ्चालन भइरहेको हो। 

नगरपालिकाभित्रका अति सुख्खाग्रस्त वडा नं. ७, वडा नं. ८ र वडा नं. ९ मा खानेपानीको सुविधा पु-याउने गरी सङ्घीय सरकारबाट यो योजना सञ्चालन भइरहेको वडा नं. ८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो। “नगरपालिकाका यी तीनवटा वडा अति सुख्खाग्रस्त वडाहरू हुन्, यहाँका नागरिकलाई वर्षाको समयमा खानेपानीको समस्या हुन्छ, जहाँ तामाकोशीको पानी लिफ्टमार्फत तानेर जनताको घरघरमा पु-याउनुको विकल्प छैन,” उहाँले भन्नुभयो। 

लामो समयको प्रयासपछि अहिले सङ्घीय सरकारको बहुवर्षीय योजनाअन्तर्गत ४९ करोड रुपियाँको लागतमा गत वर्षबाट सञ्चालन भइरहेको यो आयोजनाको अहिलेसम्म १५ प्रतिशतभन्दा बढी काम भएको उहाँले बताउनुभयो। मन्थली नगरपालिका–७ को गुमिटारस्थित तामाकोशीबाट लिफ्टमार्फत पानी तानेर वडा नं. ८, चिसापानीको सबैभन्दा अग्लो ठाउँ चिसापानी गढीमा पु-याइनेछ। लिफ्ट प्रविधिबाट भटौलीको मुगिटारबाट चिसापानी गढीसम्म पानी पु-याउनका लागि विभिन्न पाँच स्थानमा ट्याङ्कीहरू निर्माण गरिनेछ। त्यसपछि वडा नं. ७, ८ र ९ मा पानी वितरणका लागि विभिन्न क्षमताका २४ वटा ट्याङ्की निर्माण हुनेछन्। 

यो आयोजना २०८१ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य जारी छ। आयोजना सम्पन्न भएपछि वर्षाको समयमा समेत खानेपानीको चरम समस्या भोग्दै आएका मन्थली नगरपालिकाका तीन वडाका नागरिकले खानेपानीको सुविधा पाउनेछन्। अहिले आयोजनाअन्तर्गत मन्थली नगरपालिका वडा नं. ९ साबिक पुरानागाउँ गाविसको वडा नं. १ देखि वडा नं. ८ सम्म खानेपानी सेवा पु-याउन विभिन्न स्थानमा ट्याङ्की निर्माण कार्य भइरहेको वडा नं. ९ का वडाध्यक्ष गोकर्णराज आरणले बताउनुभयो। “वडा नं. ९, पुरानागाउँको साबिक वडा नं. १ देखि ८ सम्मका नागरिकको घरघरमा खानेपानी पु-याउनका लागि काम सुरु भइसकेको छ, जसका लागि साबिक वडा नं. १, २ र ५ मा ट्याङ्की निर्माण कार्य जारी छ, साबिकको वडा नं. ७ मा पनि केही समयपछि ट्याङ्की निर्माण सुरु हुन्छ,” उहाँले भन्नुभयो।