काठमाडौँ, चैत ९ गते । स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरबाट छ वर्षदेखि ग्रस्त एक जना प्राध्यापक अहिले उपचार खर्च जुटाउने अभियानमा हुनुहुन्छ । क्यान्सर हुँदा नै विद्यावारिधि गरेर तथा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रतिस्पर्धामा गणित विषयकी सबैभन्दा कान्छी प्राध्यापक बन्नुभएको थियो ।
उर्मिला प्याकुरेल गत वर्ष ४१ वर्षको उमेरमा उपचारको सङ्घर्ष गर्दा गर्दै प्राध्यापकमा नाम निकाल्न सफल हुनुभएको हो । त्यसै क्रममा उहाँले गणित विषयको नै अनुसन्धानका लागि फेलोसिप प्राप्त गरेर उपचार खर्च धान्दै आउनुभएको थियो । उहाँको अनुसन्धान नेपालको ट्राफिक जाम कसरी समाधान गर्न सकिन्छ भन्ने रहेको छ । उहाँले उपचार सहयोगमा लगाएको गुन गणितको व्यावहारिक प्रयोगका यस्तै अनुसन्धान गरेर तिर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोकको कालिकाकी किसान परिवारकी उहाँलाई किमोथेरापीले काम नगर्ने भएपछि नयाँ र महँगो इम्युनोथेरापी गर्नु परेको हो । प्राडा प्याकुरेलले सरकारबाट पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
हालसम्मको उपचार खर्च आफैँले जुटाएको र त्यस क्रममा साढे चार करोड रुपियाँभन्दा बढी खर्च भइसकेको उहाँले बताउनुभयो । अबको नयाँ उपचारका लागि एक चक्रका लागि एक महिनाकै साढे चार लाख जति लाग्ने र त्यस्तो थेरापी कम्तीमा एक वर्ष गर्नुपर्ने भएकाले गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा जीवन रक्षाका लागि सार्वजनिक अपिल गर्नुभएको थियो ।
उक्त अपिलबमोजिम देश–विदेशबाट सहयोग आउने क्रम जारी छ । उहाँले प्राप्त सहयोग राशिलाई दैनिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आउनुभएको छ । बुधबार साँझसम्म ३० लाख रुपियाँभन्दा बढी सङ्कलन भएको उहाँले बताउनुभयो । यो उहाँको करिब छ महिनाका लागि उपचार खर्च हो ।