• १६ चैत २०८०, शुक्रबार

वन डढेलो रोकथामका लागि अभियान

blog

सामुदायिक वनमा डेमोकाे रुपमा पातपतिङ्गरहरू जलाउँदै । तस्विर : मीना कंडेल

मीना कंडेल

कावासोती, चैत ८ गते । पूर्वी नवलपरासीका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । 

प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति हुने गर्छ ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि सप्ताहव्यापी रूपमा “वन डढेलो सचेतना सप्ताह” कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहन राज काफ्लेले बताउनुभयो । जसअन्तर्गत फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू गरिएको छ । 

कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताउनुभयो ।

राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम गरिएको छ”, उहाँले भन्नुभयो । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ ।

नेपालमा वन डढेलो प्राकृतिक कारणमात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । 

जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको हुँदा यसतर्फ नागरिकलाई सचेत गराउन डिभिजन वन र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सामुदायिक वनमा फायरलाइन रेखा बनाएर नमुना अभ्यास गरिएको प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो ।