• ८ वैशाख २०८१, शनिबार

‘सत्ताको मान्छे’माथि अन्तर्क्रिया

blog

काठमाडौँ, चैत ८ गते । नेपाली पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको परिचय यति बेला साहित्यकारका रूपमा पनि थपिएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका पत्रकार थपलिया ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमार्फत नेपाली साहित्य आकाशमा जोडिनुभएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको ‘वरिष्ठ पत्रकार तथा साहित्यकार गोपालप्रसाद थपलियाको कृति ‘सत्ताको मान्छे’ कवितासङ्ग्रहमाथिको अन्तक्र्रियामा सहभागी अधिकांश वक्ताले पत्रकार थपलियाको कृतिमाथि चर्चा गर्दै उहाँलाई थप साहित्यिक रचनाका लागि सुझाव पनि दिएका छन् । 

समालोचक प्रा. सावित्री मल्ल कक्षपतिले देश प्रेम झल्काउने यस कृतिले प्रकृतिको मात्र नभई मेहनती मानिसको पनि आवाज प्रतिविम्बित गरेको बताउनुभयो । उहाँले राजनीतिक चेतनालाई सरल ढङ्गले प्रस्तुत गरेको टिप्पणाी गर्दै पत्रकार थपलियालाई आत्मसंस्करण लेख्न सुझाव दिनुभयो । अर्का समालोचक डा. हरि सिलवालले राजनीति, न्याय, प्रशासन, जीवनदर्शन, कर्मवाद र समसामयिक पक्षलाई समेटेको कृतिले वर्गीय चेतनालाई समेटेको बताउनुभयो । कृतिले धेरै विषय समेटे पनि यो सरल र व्यङ्ग्यात्मक रूपमा लेखिएको भन्दै क्रान्ति र विद्रोहको चेत यसमा रहेको प्रस्ट्याउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यमार्फत नेपाली समाजलाई चिनाउने काम यस कृतिले गरेको चर्चा गर्दै पत्रकारिताको खोजका क्रममा आएका कुरालाई थपलियाले विम्बात्मक रूपमा पस्केको बताउनुभयो । 

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कला, विचार र शब्दको संयोजन रहेको यस कृतिको भावले सबै देशको राजनीतिलाई प्रतिनिधित्व गर्ने चर्चा गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्यायले जनताको अपेक्षामाथि तुषारापात भएपछि आक्रोशस्वरूप यो साहित्यिक कृतिको जन्म भएको चर्चा गर्नुभयो । लेखक थपलियाले आफू अब साहित्यिक लेखनमा सक्रिय रहने बताउँदै आफ्ना अन्य कृति प्रकाशनका लागि तयार रहेको जानकारी दिनुभयो । पेरोल साहित्य प्रतिष्ठानकी अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा डा. हेमनाथ पौडेल, बैरागी जेठालगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।