• १५ वैशाख २०८१, शनिबार

हुम्लामा हिमपात : किसान खुसी

blog

सदरमुकाम सिमकोटमा हिमपात हुँदै । तस्विर : राजन रावत, हुम्ला ।

राजन रावत

हुम्ला, चैत ७ गते । डेढ महिनापछिको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् ।

स्याउ र्फामका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपात किसानका लागि सुन जस्तै भएको बताउनुभयो । उहाँले लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्किन सहज भएको बताउनुभयो । 

स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उहाँको भनाइ छ ।

अर्का किसान टक्क शाहीले कात्तिके बाली लगाउन कठिन भइरहेको बेला परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको बताउनुभयो । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हिमपातसँगै चिसोसमेत बढेको बताउनुभयो । लामो समयको खडेरीपछि हिमपात हुँदा स्थानीय र बालबालिका हिउँमा रमाएका छन् ।

हिउँ पर्न सुरु भएपछि तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ । 

सदरमुकाम सिमकोटभन्दा माथिल्लो क्षेत्रमा झन् बाक्लो हिउँ परेको छ । यो हिउँ विशेष गरी सिमकोट गाउँपालिकाको छोबाखोर पञ्चमुखी, लब्लीडाँडा, रलिङगुम्बा, चाङ्ला हिमाल र नाँम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेक, यारी, मुचु, चाला, न्यालु लेकमा बढी हिमपात भएको छ । 

यस वर्षको यो तेस्रो हिमपात हो । पहिलो हिमपात गत माघ दोस्रो र दोस्रो हिमपात माघ तेस्रो हप्तामा भएको थियो ।