• १४ वैशाख २०८१, शुक्रबार

धरान महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका राई विजयी

blog

निशा राई 

धरान, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका विद्यार्थी युवराज राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रविधि हात्तीसार क्याम्पसमा ने.वि.सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसहित अध्यक्षमा नेवि सङ्घका विद्यार्थी अभिनव गुरगाँई र त्रिवि पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा नेवि सङ्घ र समाजवादी विद्यार्थीको तर्फबाट नवीन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कुल सदर मत दुई हजार एक सय ३५ मतमा समाजवादीका विद्यार्थी युवराज राईले आठ सय २४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेवि सङ्घका विद्यार्थी विनोद आले मगरले सात सय २४ मतसहित पराजित हुनुभयो । 

सचिवमा नेवि सङ्घका विद्यार्थी सनिक श्रेष्ठ मल्ल सात सय ६० मत ल्याएर विजयी हुनुभएको छ । महेन्द्र क्याम्पसमा दुई हजार तीन सय चार मत खसेकामा सदर मत दुई हजार एक सय ३५ मत थियो भने बदर मत एक सय ६९ मत रहेको थियो । 

यसैगरी, केन्द्रीय प्रविधि हात्तीसार क्याम्पसमा ने.वि.सङ्घ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसहित अध्यक्षमा नेवि सङ्घका विद्यार्थी अभिनव गुरगाँईले चार सय ७५ मत ल्याएर विजयी हुनुभएको छ भने सचिवमा अखिल क्रान्तिकारीका विद्यार्थी भगवान् थापाले छ सय ५ मत ल्याएर विजयी हुनुभएको छ ।

त्यस्तै, त्रिवि पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा नेवि सङ्घ र समाजवादी विद्यार्थी युनियनकोतर्फबाट स्ववियु सभापतिका साझा उम्मेदवार रहनुभएको नवीन श्रेष्ठले चार सय १४ मतका साथ विजयी हुनुभएको छ । कुल एक हजार आठ सय १८ मत खसेकोमध्ये सात सय ८४ मत प्राप्त गर्दै श्रेष्ठ स्ववियु सभापतिमा निर्वाचित हुनुभएको हो । निकट प्रतिद्वन्द्वी रहेका अखिल क्रान्तिकारीका मन्दीप अधिकारीले पाँच सय ५२ मत प्राप्त गर्नुभयो इन्जिनियर क्याम्पसमा रामलक्ष्मण मेसिनद्वारा विद्युतीय मतदान भएको थियो ।