• ८ वैशाख २०८१, शनिबार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

‘ऐना झ्यालको पुतली’ उत्कृष्ट

blog

काठमाडौँ, चैत ७ गते । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट राष्ट्रिय फिचर फिल्म बन्न सफल भएको छ । 

महोत्सवमा चलचित्र ‘प्रकाश’बाट प्रदीप खड्का उत्कृष्ट अभिनेता तथा दिया मास्के उत्कृष्ट अभिनेत्री बन्नुभएको छ । चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभयो ।

गौतम बुद्ध अवार्डबाट बङ्गलादेशको चलचित्र ‘गुल्मी मनसुन’ पुरस्कृत भएको छ भने उत्कृष्ट लेखनका लागि ऐना झ्यालको पुतलीबाट सुजित बिडारीले अवार्ड पाउनुभएको छ । यसैगरी चलचित्र प्रकाशबाट राजेश श्रेष्ठ उत्कृष्ट छायाकार बन्नुभएको छ । 

त्यस्तै छोटो चलचित्रतर्फ चलचित्र दुविधाका लागि प्रद्युम्न मिश्र उत्कृष्ट निर्देशक बन्नुभएको छ । महोत्सवमा उत्कृष्ट मेन्सन अवार्ड चलचित्र ऐना झ्यालको पुतलीबाट दिनेश खत्रीले प्राप्त गर्नुभएको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्रका लागि दिइने बागमती अवार्ड इरानको चलचित्र ‘द बुक’ लाई प्रदान गरियो । त्यस्तै स्कटल्यान्डको ‘द लेजेन्ड अफ गोल्डकोन’ उत्कृष्ट एनिमेटेड चलचित्र बन्न सफल हुँदा उत्कृष्ट वृत्तचित्रतर्फको एके शेर्पा अवार्ड नेपालको ‘द टाइगर्स ज’, माउन्ट एभरेस्ट अवार्ड इन्डोनेसियाको ‘मेन्टावेले’ प्राप्त गरेका छन् । फिचर फिल्म उत्कृष्ट जुरी अवार्ड ‘द सेक्रेट अफ राधा’ र ‘पाताल घर’ ले प्राप्त गरेका छन् । यसैगरी स्पेसल मेन्सन अवार्ड इरानको द प्रेर्यसले तथा पञ्चकन्या अवार्ड नेपाली चलचित्र झुम्कोले प्राप्त गरेको छ । 

काठमाडौँमा पाँच दिनसम्म चलेको महोत्सवको उद्घाटनमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रिमियर गरिएको थियो । नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको महोत्सवमा नेपालसहित ३५ देशका चलचित्रकर्मीको प्रतिनिधित्व रहेको थियो भने ९५ चलचित्र प्रतिस्पर्धामा थिए । ‘विश्वभरका कथाहरूको उत्सव’ नारासहित सुरु भएको महोत्सवको सोमबार भएको समापन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, निफका अध्यक्ष केपी पाठक, वरिष्ठ अभिनेत्री मिथिला शर्मा, मनोज गजुरेल, प्रियङ्का कार्की, नम्रता श्रेष्ठ, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाललगायतको उपस्थिति थियो ।