• ८ पुस २०८१, सोमबार

साहसी प्रधानमन्त्री प्रचण्ड : सांसद यादव

blog

सोमबारको प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदिप यादव । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत ६ गते। जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रशंसा गर्नुभएको छ। 

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रचण्ड साहसी प्रधानमन्त्री भएको भन्दै त्यस्तो प्रधानमन्त्री मुलुकले कमै पाउने दाबी गर्नुभयो। सांसद यादवले मुलुक सङ्कटमा परेकाले त्यसको निकासका लागि प्रधानमन्त्री प्रचण्डलाई सबै राजनीतिक पार्टीले मिलेर विश्वासको मत दिनुपर्ने तर्क गर्नुभयो। 

उहाँले विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो। सांसद यादवले भन्नुभयो, ‘‘आज आम नेपाली जनताले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पटक पटक व्यक्त गर्नुभएको प्रतिबद्धता कार्यान्वयन चाहेको छ। म उहाँको प्रतिबद्धताको कार्यान्वयनमा सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु। पुष्पकमल दाहाल 'प्रचण्ड'जस्तो साहसी प्रधानमन्त्री कमै पाइन्छ। मनमा केही रहँदैन। प्रष्ट बोल्ने, प्रष्ट कुरा राख्ने।  अहिले मुलुकमा जुन प्रकारको सङ्कट परेको छ। मुलुकमा जुन प्रकारको अर्थतन्त्रमा तरलता आएको छ। यो अवस्थामा हामी सबै मिलेर सम्माननीय प्रधानमन्त्रीजीलाई मतदान गरौँ। म अनुरोध गर्न चाहन्छु।’’

सांसद यादवले नेपाली जनताले प्रधानमन्त्री प्रचण्डबाट विगतमा गरिएको प्रतिबद्धता कार्यान्वयन भएको हेर्न चाहेकाले उहाँले सो काममा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो। उहाँले महंगी नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराउनुभयो।