• १६ चैत २०८०, शुक्रबार

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्रीलाई विश्वासको मत : रास्वपा

blog

प्रतिनिधि सभाको सोमबारको बैठकमा धारणा राख्नु हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सांसद डोरप्रसाद अर्याल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, चैत ६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरू सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दा रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरी पनि विश्वासको मत दिन लागिएको बताउनुभएको हो।

उहाँले आफ्नो दललाई आपत् परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद समेत दिनुभयो। उपसभापति अर्यालले भन्नुभयो, ‘‘ हामीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा समर्थन गरी सरकारमा सहभागी हुँदादेखि सरकारबाट बाहिरिएर अहिले उक्त समर्थनलाई निरन्तरता प्रदान गर्दासम्म कसैसँग गठबन्धन गरेका छैनौँ। हामी यस अघि सरकारबाट मन्त्रीहरू फिर्ता  बोलाउने पहिलो दल हौँ। हाम्रै विशेष पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्यौँ। सरकारले विशेष पहलमा न्यूनतम साझा कार्यक्रम तय गर्‍यो। जसमा हाम्रा बाचा पत्र कयौँ कुराहरू समावेश छन्। ती बुँदाहरू हाम्रा होइनन्। आम नागरिकका हुन्। आम नागरिकका ती मुद्धाहरु सम्बोधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो। हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौँ।’’

सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरूले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘‘सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन। नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ। साथै हाम्रो दललाई आपतपर्दा, हामीमाथि सङ्कट आइपर्दा यसै रोष्टमबाट हाम्रो पक्षमा उभिनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नु चाहन्छु। विषय परिस्थितिमा हौसला दिनुहुने सबै दलका नेता गणहरूप्रति राष्ट्रिय स्वतन्त्र पार्टी हार्दिक आभार प्रकट गर्न चाहन्छ।’’

उपसभापति अर्यालले जनताले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरूको सो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो।