गोकर्ण दयाल
बैतडी, चैत ६ गते ।
‘जेठो महिना चैत होलो, रङिलो वैशाख
जौँ–तिल जेठो होलो, पञ्च अनाज जेठो
आनली कानलीका पलुईगया तिता
भलो गरेई भागानन्द दुवै घर रिता’
दार्चुलाका नरी बादी यतिबेला बैतडी सदरमुकामतिर हुड्काको तालमा चैतको भेटौलो गाउनमै व्यस्त हुनुहुन्छ। भेटौलो पर्वमा पराइ घर गएकी चेलीको कथा गीतमा समेटिएको छ। हातमा हुड्को हल्लाउँदै चैत गाउँदै गाउँसहर घुम्दा नरीलाई अन्न र केही नगद प्राप्त हुन्छ।
नेपाली पात्रोअनुसार वैशाखलाई नयाँ वर्ष मानिन्छ। छवटा ऋतुमध्ये (चैत–वैशाख) वसन्त ऋतुलाई जेठो ऋतु मानिन्छ। जेठो महिना चैत भएकाले सुदूरपश्चिमको मौलिक परम्परासँग गाँसिएको चैतको भेटौलो सुरु भएको छ। चैत महिनाभरि पराइ घर गएकी चेलीलाई उपहारमा नयाँ लुगा र मीठा परिकार लगेर भेट्न जाने चलन छ।
चैतलाई ऋतु गीत पनि भनिन्छ। हुड्को बजाउँदै चैत गएर गाउँ डुल्ने परम्परा घट्दै गइरहेका बेला दार्चुलाका नरी बादी बैतडी पुगेर परम्परा धानिरहनुभएको छ। हुड्को बजाएर चैत गाउँदा आम्दानी पनि हुने संस्कृतिको जगेर्ना पनि हुने अनुभव उहाँको छ। उहाँका अनुसार चैत गाउँदा भाइ–बहिनी भेट्न नपाएकाहरू रुने गर्छन्।
रोजगारीका लागि विदेश गएका दाजुभाइ सम्झेर दिदी बहिनी हुड्को बज्दा रुने गरेको तीतो अनुभव उहाँसँग छ। ऋतुअनुसार चैत महिनाले नयाँ वर्षको घुम्टो खोल्ने भएकाले चैत महिनामा चैतलो गाउने र पराई घर गएका छोरी–चेली भेट्ने चलन रहेको संस्कृतिविद् चन्द्रमोहन तिवारीले बताउनुभयो।
उहाँले ऋतुपछि तिथिअनुसार पनि चैत ८ गते शुक्ल प्रतिपदाबाट २०८० साल सुरु भएको बताउनुभयो। सुदूरपश्चिमका डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा माघ महिनामा छोरीचेली भेट्ने चलन भए पनि बैतडी र दार्चुलामा भने चैत महिनाको भेटौलो ऋतुअनुसार गाँसिएर आउने परम्परा रहेको छ।
चैतसँग जोडिएको धार्मिक पक्ष
भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्ला (अङ्ग्रेज युद्धमा नेपालले गुमाएको भूभाग)को जाख–जिखनीमा चमदेवको मन्दिर छ। सो मन्दिरमा वसन्त ऋतुको चैत महिनामा मेला लाग्ने गर्छ। त्यो मेलामा नेपालको सुदूरपश्चिमबाट पनि दर्शनका लागि नेपाली जाने गरेको संस्कृतविद् तिवारीले बताउनुभयो।
चमदेव मेलामा जाने हजारौँ श्रद्धालुलाई त्यहाँका स्थानीयले आफ्नो घर–घरमा लगेर मीठा–मीठा खानेकुरा खुवाउने चलन रहेको छ। दिनभरि मेलाको दर्शन गरेपछि स्थानीयको घरमा गएर पाहुना बन्नैपर्ने निकै रोचक धार्मिक पक्ष रहेको तिवारीले बताउनुभयो।
बैतडीबाट चमदेव मेला भर्न जाँदा आफैँ प्रत्यक्ष पाहुना बनेर स्थानीयका घरमा गएको स्मरण गराउँदै संस्कृतिविद् तिवारीले मेलामा कुनै देश, भूगोल, जातिको विभेद नभएको बताउनुभयो।