• ८ वैशाख २०८१, शनिबार

विपन्नलाई निःशुल्क यातायात सुविधा

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत ५ गते । हिमाली जिल्ला म्याग्दीको एक परोपकारी सामाजिक संस्थाको आग्रहमा यातायात कम्पनीले आर्थिक रुपमा विपन्न परिवारलाई निःशुल्क यातायातको व्यवस्था गर्नेभएको छ ।

म्याग्दीको बेनीमा रहेको ओमकुमारी शान्ति कोषको आग्रहमा म्याग्दी कोरला यातायात प्रा.लि.ले निःशुल्क यातायातको सेवा दिनेभएको हो । ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायातले लिखित रुपमा सम्झौता गरेरै कोषको सिफारिसमा निःशुल्क यातायातको व्यवस्था मिलाउन लागेको छ । 

म्याग्दी कोरला यातायातले पोखरा र काठमाडौंसम्म जानुपर्ने विपन्न अवस्थाका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने सहमती भएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताउनुभयो ।

ओमकुमारी शान्ति कोषका अध्यक्ष हरिकृष्ण शर्मा गौतम र यातायातका केसीले दुई संस्थावीचको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतामा हस्ताक्षर भएपछि कोषले सिफारिस गरेका विरामीलाई निःशुल्क सेवा दिने प्रतिवद्धता जनाइएको यातायातका केसीले बताउनुभयो ।

बि.स. २०७१ मा बेनी नगरपालिका –४ कलङ्कुरकी ओमकुमारी (शान्ति) पुन हाइपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएका म्याग्देलीको उपचारमा अर्थ जुटाएर उपचारमा सहयोग गर्दैआएको छ । 

कोषको संरक्षक सदस्य र आजिवन सदस्यगरी हालसम्म नौ सय ३३ जना रहेका छन् । अहिले ओमकुमारी शान्ति कोषको आफ्नो कोषमा एक करोड २१ लाख रहेकोमा हालसम्म दुई सय ८३ जना बिरामीको उपचारमा अक्षय कोषको व्याज, बिरामी बचाउ अभियान र अन्य सहयोगबाट गरी दुई करोड ५४ लाख सहयोग गरिएको संस्थाका अध्यक्ष गौतमले बताउनुभयो । साथै अन्य सामाजिक एवम् विविध क्षेत्रहरुमा ९० लाख ५० हजार सहयोग गरेको उहाँले बताउनुभयो ।