• ७ वैशाख २०८१, शुक्रबार

सङ्खुवासभाको दुई क्याम्पसमा सर्वसम्मत

blog

ध्यान कुलुङ 

सङ्खुवासभा, चैत ४ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सङ्खुवासभाका –४ क्याम्पसमध्ये दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भइरहेको छ । ४ मध्ये २ क्याम्पसमा सर्वसम्मत भएपछि बाँकी २ क्याम्पसमा आइतबार निर्वाचन भएको हो ।

जिल्लाको चैनपुर बहुमुखी क्याम्पस र मादी बहुमुखी क्याम्पस मादीमा सर्वसम्मत रुपमा स्ववियु पदाधिकारी चयन गरिएको छ । वरुण बहुमुखी क्याम्पस खाँदबारी र रामेश्वर क्याम्पस धर्मदेवीमा निर्वाचन भइरहेको हो । चैनपुरमा नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का आमोद कार्की र मादीमा पनि अनेरास्ववियुकै गोपाल प्रसाइको नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन भएका छन् । 

वरुण र रामेश्वरमा भने नेपाल विद्यार्थी सङ्घ, नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्वबियु र नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धन र एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) बीच प्रतिस्पर्धा छ । 

सबैभन्दा धेरै मतदाता भएको वरुण बहुमुखी क्याम्पसलाई चासोका साथ हेरिएको छ । अन्य क्याम्पसमा मतदाता सङ्ख्या एक सयभन्दा कम छन् भने वरुण बहुमुखी क्याम्पसमा ५ सय १६ मतदाता छन् । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजे सम्पन्न भएको छ ।