• ८ वैशाख २०८१, शनिबार

कोहलपुर–सुर्खेत सडक दुई लेन बनाइँदै

blog

रत्नराज मार्गको कोहलपुर–सुर्खेत सडक खण्ड । तस्बिर: नवीन सुबेदी

नवीन सुबेदी

सुर्खेत,चैत ५ गते । कोहलपुर–सुर्खेत सडक खण्ड दुई लेनमा विस्तार हुने भएको छ । निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसकेको रत्नराज मार्गको क्षेत्र निर्धारण र कार्यसूची (टिओआर) स्वीकृत भएसँग वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अन्तिम चरणमा पुगेको हो । 

सङ्घीय सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले राजमार्ग स्तरोजन्नतिका लागि तयार पारिएको इआईए प्रतिवेदनमाथि प्रभावित क्षेत्रका बासिन्दाको राय, सुझाव लिने काम सम्पन्न भएसँगै स्तरोन्नतिका लागि काम अगाडि बढ्ने भएको हो । प्रभावित क्षेत्रका नागरिकको राय सुझावका आधारमा इआइए प्रतिवेदनलाई अन्तिम रूप दिन लागिएको आयोजनाले जनाएको छ ।

महाशाखाद्वारा जारी सूचनामा कोहलपुर–सुर्खेत–बाङ्गे सिमल खण्डमा पर्ने ९० दशमलव ७५ किलोमिटर सडक खण्डलाई दुई लेनमा कालोपत्रे सडकमा स्तरोन्नति गर्नका क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत भएपछि वातावरण संरक्षण ऐन २०७६ को दफा ३ को उपदफा ५ बमोजिम आयोजना कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय समुदाय, जनप्रतिनिधि, वन उपभोक्ता समूह र सरोकारवालाहरूको आवश्यक राय सुझाव माग गरेको थियो । चैत ३ गते सुर्खेतको वीरेन्द्रनगरमा अन्तिम सार्वजनिक सुनुवाइ गरिएको थियो । स्तरोन्नति गरिने ट्रया्कमा क्यारिज वे ७ मिटर रहने छ भने, सडकको चौडाइ दुवैतर्फ साढे एक मिटर विस्तार हुनेछ । प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन मिल्ने गरी हालको सडकलाई विस्तार गरी क्षेत्राधिकार ५० मिटरको बनाइने उल्लेख छ । 

सडकका लागि आवश्यक पर्ने जग्गा यस अघि नै नेपाल सरकारले भोग चलन गरी सकेको छ । बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज, चुरे क्षेत्र र विभिन्न सामुदायिक वन क्षेत्रका करिब १० हजार रुख कटान कटान हुनेछ । सडकको मापदण्ड कस्तो हुने र वातावरणमा कम असर पर्ने गरी कसरी काम गर्ने तथा अहिले नै चार लेनमा सडक विस्तार गर्ने की नगर्ने विषयमा सार्वजनिक सुनुवाइमार्फत राय मागिएको परामर्शदाता बि सी एल एसोसियट्स को जेभीका प्रतिनिधि प्रकाश घिमिरे बताउनुभयो ।  उहाँका अनुसार वातावरणमा प्रभाव नपर्ने गरी स्थानीय स्तरमा रोजगारीको प्रत्याभूतिसहितको दिगो विकासलाई महत्त्व दिइएको छ । नयाँ विस्तार हुने सडकमा सार्वजनिक शौचालय, यात्रु प्रतीक्षालय, चार्जिङ स्टेसनहरू राखिनेछ ।

आयोजनाको कुल लागत इआईए प्रतिवेदनको अन्तिम रिपोर्टपछि मात्रै एकिन हुने घिमिरेको भनाइ छ ।   आयोजनाबाट लुम्बिनी प्रदेशका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बाँसगढी नगरपालिका र सुर्खेतको भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । कर्णालीको समृद्धिसँग जोडिएको यो सडक छिमेकी देश भारतदेखि उत्तरमा चीनसँग जोड्ने एक मात्र व्यापारिक र पर्यटकीय स्थल मार्गको रूपमा रहेको छ । यो सडक भएर कर्णालीका १० र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकले आवतजावत गर्ने गर्दछन् ।