• ४ वैशाख २०८१, मङ्गलबार

बढाएको महसुल नगरपालिकाले फिर्ता लियो

blog

इलाम नगरपालिकाको कार्यालय । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत ४ गते । इलाम नगरपालिकाले आफ्नो दशौं कार्यपालिका बैठकबाट बढाएको खानेपानीको महसुल शनिबार फिर्ता लिएको छ । उपभोक्तालाई थाहै नदिई बढाएको महसुलको उपभोक्ताले विरोध गरेपछि शनिबार बसेको १३ औँ कार्यपालिका बैठकपछि नगरपालिकाले फिर्ता लिएको हो । 

बैठकले नयाँ आयोजना अर्थात् सहरी खानेपानी आयोजना निर्माण पूरा भइनसकेको अवस्थामा पुरानै आयोजनाको पानीको महसुल अस्वाभाविक रूपमा भन्दै उपभोक्ताले गुनासो गरेपछि पुरानै दरमा महसुल लिने निर्णय गरेको जनाइएको छ । 

बैठकले अर्को निर्णय नभएसम्म नयाँ आयोजना साबिककै महसुल लिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय खानेपानीको महसुल बुझाइ सकेका उपभोक्ताको महसुल रकम साबिक दररेट हुनेगरी आगामी महिनामा बिल समायोजन गर्ने निर्णयमा उल्लेख छ । यस्तै, उपभोक्ताबाट आएका सबै किसिमका गुनासा सङ्कलन गरी वडाले गुनासो सुनुवाइ कार्यक्रम गर्नेलगायतका निर्णय भएको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले आफ्नो दशौं कार्यपालिका बैठकमा बढाएको खानेपानीको महसुल सार्वजनिक नगरी आफूखुसी महसुल बिल काटेपछि आम उपभोक्ताले विरोध गरेका थिए । गत माघ ५ गते बसेको कार्यपालिका बैठकले खानेपानीको महसुल बढाएको विषय विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएपछि मात्र उपभोक्ताले महसुल बढेको थाहा पाएका थिए । 

नगरपालिकाले नयाँ आयोजनामा जडान गरिएको मिटर, गेट भल्व आदिमा समस्या भएकाले महसुल बढी उठेको  र त्यसको अध्ययन गरिरहेको भ्रम छर्दैआएको थियो । मासिक रूपमा महसुल उठाउनु पर्ने नगरपालिकाले मङ्सिरदेखि फागुन महिनासम्मको खानेपानीको महसुलको बिल एकै पटक काट्न लगाएको थियो । नगरपालिकाले माघ ५ गतेको कार्यपालिका बैठकले महसुल बढाउने निर्णय गरेर मङ्सिर महिनादेखिनै बढेको महसुल लागूगरेको थियो । 

यसअघि इलाम नगरपालिकामा ल्याउन लागिएको सहरी खानेपानी आयोजनाको ऋण तिर्नका लागि पनि महसुल उठाइएको नगरपालिकाका प्रमुख तथा आयोजनाको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताउनुभयो । अहिले नयाँ आयोजनाको विस्तार गरिएको पाइपलाइनबाट पुरानै आयोजनाको पानी परीक्षणका लागि सञ्चालन भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताउनुभयो । पछिल्लो समय उपभोक्ताले दुई हजार रुपियाँदेखि दश हजार रुपियाँसम्म महसुल तिरिरहेको जनाएका छन् ।