• २ कात्तिक २०८२, आइतबार

बीस वर्षीयले बनाए साइनबोर्ड मेसिन

blog

पोखरा समाचारदाता 

पोखरा, चैत ४ गते । पोखरा विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा अध्ययन गरिरहेका पोखराका २० वर्षीय अभिनाश अधिकारीले साइनबोर्ड बनाउने मेसिन बनाउनुभएको छ। करिब एक महिना लगाएर निर्माण भएको मेसिनबाट काठमा थ्रीडी/टुडी शिलालेख, थ्रीडी/टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनाशले बताउनुभयो। 

नेपालमा नै पहिलो पटक उक्त मेसिन बनेको दाबी अभिनाशको छ। सीएनसी प्रविधिद्वारा निर्मित उक्त मेसिनलाई गुराँस आर्टस्ले निर्माण गरेको हो। सो मेसिन बनाएपछि मायाको चिनो खरिदमा मात्रै नेपालबाट विदेशिने करोडौँ रुपियाँ जोगिने दाबी गरिएको छ। स्थानीय स्रोतसाधनलाई प्रयोग गरेर मेसिन निर्माण गर्न सकिने भन्दै किताबमा पढेको ज्ञानलाई व्यवहारमा उतारेको उहाँको भनाइ छ।

 मेसिनको अनावरण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अभिनाशजस्ता विद्यार्थीलाई हौसला दिएर प्रोत्साहनसमेत गर्नुपर्ने बताउनुभयो। उहाँले अभिनाशले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको धारणा राख्नुभयो। पोखरा महानगरपालिकाले सभा गृहमा बिजनेस प्रोमोसन सेन्टरको स्थापना गरेको र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै आएको प्रमुख आचार्यले जानकारी दिनुभयो। अभिनाशले निर्माण गरेको मेसिनलाई बजारीकरण गर्न पनि पोखरा महानगरपालिकाले सहज वातावरण मिलाउने उहाँले बताउनुभयो। 

पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्ताकोटी, गुराँस आर्टस्का निर्देशक एवं अभिनाशका बुवा शिवबहादुर अधिकारीलगायतले नयाँ प्रतिभाबारे आफ्नो भनाइ राख्नुभएको थियो।