• ८ वैशाख २०८१, शनिबार

दोषीमाथि कारबाही गर्न माग

blog

काठमाडौँ, चैत ४ गते । अत्यावश्यक र संवेदनशील क्षेत्रका रूपमा रहेको बैङ्किङ क्षेत्र र कर्मचारीमाथि साङ्घातिक आक्रमण हुन थालेपछि कर्मचारी चिन्तित र आतङ्कित बनेका छन् । यस्ता घटना बढ्दै जाने हो भने समग्र बैङ्किङ क्षेत्रको मनोबल खस्किने र यसले अर्थतन्त्रलाई समेत सङ्कटमा पार्ने उनीहरूको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि बैङ्क तथा वित्तीय संस्थाका चारवटै सङ्गठनले चिन्ता व्यक्त गरेका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

केही व्यक्ति तथा समूहले बैङ्क, वित्तीय संस्था तथा लघुवित्त संस्थाका कर्मचारीप्रति लक्षित गरी दिइएको धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र साङ्घातिक आक्रमणको ती संस्थाले निन्दा गरेका छन् । चारवटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “हाम्रा कर्मचारीमाथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायतका क्षेत्रमा धरपकड, साङ्घातिक हमला, कार्यालयमा तालाबन्दीप्रति हाम्रो घोर आपत्ति रहेको छ । घटनामा संलग्न दोषीलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गर्दछौँ ।”

विज्ञप्तिमामार्फत अराजक र उत्तेजक अभिव्यक्ति दिएर यस प्रकारका घटना प्रोत्साहन गर्नेलाई कानुनी दायरामा ल्याउन पनि यी संस्थाले संयुक्त रूपमा माग गरेका छन् । साथै यस प्रकारका घटना नरोकिएसम्म र कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुन्जेलसम्म बैङ्किङ सेवा नै सञ्चालन गर्न नसक्ने अवस्था रहेको पनि उनीहरुले जनाएका छन् ।

यस प्रकारका क्रियाकलाप कसैको हितमा नहुने, असहज वातावरण सिर्जना गर्ने, सामाजिक सहिष्णुता खलल पु-याउने, आर्थिक गतिविधिमासमेत नकारात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने भएकाले यसप्रति सजग रहन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा कानुन आफ्नो हातमा लिई भइरहेका अराजक घटनालाई समयमै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायसँग चारवटै संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा अनुरोध गरिएको छ ।