रमेश विश्वकर्मा
गुल्मी, चैत २३ गते। गुल्मीमा सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहलाई प्रभावमा पार्ने बिचौलिया र ढिलासुस्ती गर्ने कर्मचारीलाई कारबाही गरिने भएको छ। गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सार्वजनिक निकायबाट हुने सेवा प्रवाह सम्बन्धी सूचना जारी गर्नुहुँदै बिचौलिया प्रकृतिका कार्यहरु कसैले पनि गर्न नहुने बताउनुभयो।
बिचौलिया प्रकृतिका कार्यहरु कसैले गरेको भेटिएमा त्यस्ता व्यक्तिसँगै सेवाग्राहीलाई अनावश्यक दुःख दिने अतिरिक्त लाभ लिन खोज्ने कर्मचारीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो। जिल्लाका सार्वजनिक निकायहरुबाट प्रवाह हुने सेवालाई सहज, छिटो, छरितो प्रभावकारी बनाउनका लागि नियमित समीक्षा, कार्यालयहरुको अनुगमन, समन्वय एवम् सहजीकरण भइरहेको सूचनामा उल्लेख छ।
सेवाग्राहीहरुले कार्यालयहरुबाट सेवा लिने सन्दर्भमा कोही कसैले छिटो, छरितो एवम् सहज ढंगले काम गराइदिन्छु भनी सेवाग्राहीलाई प्रभावमा पारी आर्थिक वा अन्य लाभ लिने, कर्मचारीलाई प्रभावमा पार्न खोज्ने लगायतका कार्य गर्न सक्ने हुँदा कोही कसैले त्यस्ता गतिविधि गरेको पाइएमा तत्काल प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुपर्ने छ।
त्यसैगरी, सेवा लिने कार्यालयका कर्मचारीले सेवाका लागि तोकिएको दस्तुर बाहेक अतिरिक्त दस्तुर माग गरेमा, आवश्यक कागजात पुगेको अवस्थामा समेत सेवा दिन ढिला सुस्ती तथा आनाकानी गरेमा सोको प्रमाणसहित सेवाग्राहीहरुले तत्काल प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।