बाजुरा समाचारदाता
बाजुरा, चैत २३ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–२ स्थित वसन्त बालमैत्री आधारभूत विद्यालय नगरकै एक उत्कृष्ट विद्यालय हो । २०५१ देखि सञ्चालित यो विद्यालय बुढीगङ्गा नगरपालिकाले लिने गरेको कक्षा ५ को नगरस्तरीय परीक्षामा सधैँ उत्कृष्ट रहँदै आएको छ । वसन्त बालमैत्री विद्यालयको प्रधानाध्यापक बहादुर थापाले विद्यालयको शिक्षा राम्रो भए पनि भौतिक संरचना निकै कमजोर रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारले विद्यालयको भौतिक पूर्वाधार तथा अन्य व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने हो तर लामो समयदेखि विद्यालयको एउटा झ्यालसमेत फेर्न सकिएको छैन ।”
उहाँका अनुसार यस क्षेत्रका अधिकांश विद्यालय भौतिक पूर्वाधारयुक्त छन् । कक्षाकोठा बढी छन् तर त्यसमा बालबालिका कम छन् । हाम्रो विद्यालयमा भने बालबालिका बढी छन् तर कक्षाकोठा कम छन् ।
प्रधानाध्यापक थापा भन्नुहुन्छ, “विद्यालयमा पुराना केही टिनले छाएका दुईदेखि चारकोठे भवन छन् । ती भवनका सबै झ्याल जीर्ण छन् । प्रारम्भिक बालकक्षाका बालबालिकाका लागि विभिन्न प्रकारका शैक्षिक सामग्री कक्षाकोठामा राख्नुपर्ने हुन्छ तर स्कुलको भवनमा न त झ्याल छन्, न त ढोका नै । कसरी ती सामग्री सुरक्षित राख्न सक्नु ।”