धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २२ गते । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट सीताराम साह प्रतिनिधि सभाको निर्वाचनमा पहिलो पटकमै विजयी बन्नुभयो । शक्ति, सामथ्र्य र विरासत बनाएका प्रतिस्पर्धीलाई साहले निर्वाचनमा ३६ हजार ४१२ मत प्राप्त गरेर हराउनुभयो ।
मधेशको समथर भूभागदेखि चुरेका विकट बस्तीसम्म फैलिएको यो क्षेत्रमा उहाँ जनताको भरोसा बन्नुभएको छ । साहले तीन पटकसम्म लगातार जित्दै आएका नेपाली कांग्रेसका तेजुलाल चौधरीलाई १३ हजार १०३ मतमा सीमित गर्नुभयो ।
नेपाल सरकारको वन तथा भूसंरक्षण कार्यालयमा ३५ वर्ष लामो समय राष्ट्रसेवक कर्मचारीका रूपमा सेवा गर्नुभएका साहले भूसंरक्षण अधिकृत पदबाट राजीनामा दिँदै खुला राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँका अनुसार जनताले भोग्दै आएको दुःख, असमानता र राजनीतिक नेतृत्वप्रतिको निराशाले यो निर्णय लिन बाध्य बनायो । पहिले नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य र खडक नगरपालिका प्रमुखका प्रत्यासी भइसकेका उहाँले प्रतिनिधि सभा निर्वाचनअघि पार्टीको क्षेत्रीय सभापति पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो ।
सप्तरीकै बोदेबरसाइनस्थित चन्द्रा नमुना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा हासिल गर्नुभएका साहले हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानबाट आइएससी फरेस्ट्री अध्ययन गर्नुभयो र भारतको विहारबाट स्नातक तह उत्तीर्ण गर्नुभयो । पूर्वको इलामदेखि पश्चिम नेपालका विभिन्न जिल्लासम्म राष्ट्रसेवक कर्मचारीका रूपमा काम गर्दै उहाँले देशको भौगोलिक विविधता र जनजीवनको यथार्थलाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो । पारिवारिक जीवनमा मायाकुमारी साहसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएका उहाँ अनुभव, अनुशासन र जनभावनासँग जोडिनुभएको छ ।
निर्वाचनपछि उहाँले व्यक्त गर्नुभएको एउटा वाक्य ‘जनतालाई शिरमा राखेर काम गर्छु’ अहिले उहाँको राजनीतिक दर्शनको सार बनेको छ । उहाँका अनुसार सप्तरी–४ क्षेत्र राणा शासनकालदेखि नै सामन्त र नवसामन्तको प्रभावमा रहँदै आएको छ, जसका कारण विकास सधैँ पछि परेको छ र जनताले चौतर्फी समस्या भोग्नु परेको छ । ती समस्यालाई व्रmमबद्ध रूपमा समाधान गर्दै क्षेत्रलाई विकासको मार्गमा अगाडि बढाउने उहाँको अठोट छ ।
भौतिक पूर्वाधारको विकाससँगै दलित तथा पछाडि पारिएका समुदायको उत्थान, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ, स्वास्थ्य, शिक्षा र चुरे संरक्षणलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने उहाँको योजना रहेको छ । विशेष गरी सुनकोशी–त्रियुगा–खाँडो बहुउद्देश्यीय आयोजना अघि बढाउने उहाँको प्रमुख लक्ष्य रहेको छ, जसले सप्तरी र सिराहाका खानेपानी, सिँचाइ र विद्युत् समस्याको दीर्घकालीन समाधान दिन सक्ने विश्वास गरिएको छ ।
मधेशलाई मरुभूमि बन्नबाट जोगाउन चुरे संरक्षण अपरिहार्य रहेको बताउँदै उहाँले प्राकृतिक सन्तुलन कायम राख्न दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्नुभयो । चुरेलाई संरक्षण नगरी विकास सम्भव नहुने उहाँको धारणा छ । पछिल्ला वर्षमा ठुला कर्पोरेट घरानाले कृषिमा लगानी बढाउँदै लगेका कारण साना किसान जोखिममा परेको भन्दै उहाँले सामूहिक खेती, उत्पादन वृद्धि, प्रशोधन र बजारीकरणमार्फत किसानलाई नै उद्यमी बनाउने योजना अघि सार्नुभएको छ ।
निर्वाचन अभियानका क्रममा घरदैलोमा पुग्दा जनताका समस्या नजिकबाट बुझ्न पाएको अनुभव सुनाउँदै साह भन्नुहुन्छ, “अब ती समस्या समाधान गर्नु मेरो जिम्मेवारी हो ।” उहाँका अनुसार अब समय कुरा गर्ने होइन, काम गरेर देखाउने हो र सुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्नुको विकल्प छैन । संसद्मा आफ्ना क्षेत्रका मुद्दा निरन्तर उठाउने र मतदातालाई आफ्नो उपस्थिति महसुस गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ ।