• १६ चैत २०८०, शुक्रबार

गैरआवासीय नेपाली सङ्घका मागप्रति सकारात्मक छु : राष्ट्रपति पौडेल

blog

राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली संघका पदाधिकारी । तस्बिर : राष्ट्रपतिको निजी सचिवालय

काठमाडौं, चैत ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्य नेतृत्वको गैरआवासीय नेपालीहरूको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ । 

भेटवार्तामा राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै सङ्घले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने बताउनु भयो। 

गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकाले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्ट्रपति पौडेलको भनाइ छ । राष्ट्रपति पौडेलले नेपालको पर्यटकीय विकासका लागि गैरआवासीय नेपालीको भूमिका अहम् हुने भन्दै नेपालको साहित्यक, सांस्कृतिक र प्राकृतिक विविधतालाई विश्वमाझ चिनाउन अपिल गर्नुभयो । 

आदिकवि भानुभक्त आचार्यको जन्म भएको तनहुँको चुँदीरम्घामा राष्ट्रिय एकतालाई भावनात्मक रूपमा विकास गर्न आफूले बृहत् योजना ल्याएको भन्दै त्यसमा सहभागी भई योगदान गर्नसमेत सङ्घका प्रतिनिधिलाई राष्ट्रपति पौडेलले आह्वान गर्नुभयो ।


भेटमा कार्यकारी अध्यक्ष थापा, अध्यक्ष कुल आचार्य, संस्थापक अध्यक्ष उपेन्द्र महतो, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव गोविन्द प्रसाद गौतम, प्रवक्ता सोम सापकोटा, कोषाध्यक्ष लोकप्रसाद दाहाल, सह–कोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, युवा संयोजक अब्दुल वसिद, संस्थापक सचिव चिरञ्जीवी ढकाल, एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिग्राम डुम्रे, एनआरएन दक्षिण कोरियाका राजन कुँवर, एनआरएनएन यूएसएका पदम विश्वकर्मा, एनआरएनएका फोकल पर्सन सरोज दाहाल, सङ्घका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीलगायतको उपस्थिति थियो ।