• १० पुस २०८१, बुधबार

‘स्थानीय तहमा काम गर्न सजिलो छ’

blog

राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादव । तस्बिर : ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) चैत ३ गते । देशभरीको अधिकांश स्थानीय तहहरूमा कर्मचारी र जनप्रतिनिधिको सम्बन्धमा उतारचढाव आइरहँदा सप्तरीको एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले अरु कार्यालयको तुलनामा स्थानीय तह चलाउन सहज रहेको बताउनुभएको छ । राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले सो कुरा बताउनुभएको हो । 

आफू राजगढ आएको छ महिनाभित्र स्थानीय तह सञ्चालन ऐनमा टेकेर सामाजिक विकासमा खर्चिने रकमको निर्देशिका, उपभोक्ता समिति गठन निर्देशिका गरी विकासीय योजना सञ्चालनमा सहजताका लागि दीर्घकालीन रोडम्यापसहितको कार्यविधि तयार पारिसकेको उहाँले बताउनुभयो । यो वर्षलाई ऐन निर्माण र कार्यान्वयनको वर्षको रुपमा काम गर्दैआएको उहाँले बताउनुभयो । आउने तीन महिनाभित्रै पालिका चलाउन आवश्यक ऐन कानुन निर्माण गरी गापाको राजपत्रको रूपमा ऐन किताव प्रकाशित गरी सबै समक्ष पुग्नेगरी काम भइरहेको उहाँले चर्चा गर्नुभयो । 

प्रमुख प्रसासकीय अधिकृत यादवका अनुसार अन्य विषयगत कार्यालयमा अवसर बाँडफॉट भए पनि चुनौती बढी नेतृत्वमा रहेको उहाँको भनाइ छ । तर मेरो विचारमा स्थानीय तह सञ्चालन ऐनअनुसार नै स्थानीय तहमा योभन्दा फरक छ । यहाँ हरेक विषयको आ–आफ्नो छुट्टै शाखा हुन्छ र प्रत्येक शाखा प्रमुखले जनप्रतिनिधि र कार्यालय प्रमुखसँग समन्वय गरी स्वतन्त्रपूर्वक आफ्नो शाखाको कार्यसम्पादन गर्न सक्ने अधिकार रहेको उहाँको भनाइ छ । 

स्थानीय सरकारले गर्ने विकासका हरेक कामकारबाहीमा जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार बनाउन सक्यो भने स्थानीय तहमा बसेर काम गर्न अत्यन्तै सहज हुने उहाँको भनाइ छ । “मैले जुनसुकै स्थानीय तहमा जाँदा त्यहाँका जनप्रतिनिधि र सम्पूर्ण शाखा प्रमुखलाई आफ्नो क्षेत्राधिकार र जिम्मेबारी विभाजन गरेर समन्वयात्मक तवरले काम गर्न भन्छु । जसलेगर्दा काम पारदर्शी ढङ्गले समयमा सम्पन्न हुन्छ” उहाँले भन्नुभयो । 

सप्तरीमा जनप्रतिनिधि र कर्मचारीबीच लामो समयदेखि हुँदैआएका विवादहरू पेचिलो बन्दै गएको उहाँले बताउनुभयो। हप्तैपिच्छे कुनै न कुनै पालिकाको विवाद बाहिरिने मात्र नभई अदालतसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । 

जिल्लाको एक दुई ठाउँ बाहेक सबैजसो स्थानीय तहमा जनप्रतिनिधिबीच विवाद देखिने गरेको छ । कुनै कुनै स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच पनि विवाद हुने गरेको उहाँको बुझाइ छ ।