• १० पुस २०८१, बुधबार

ध्वनि प्रदूषण : डीजे बाजा नियन्त्रणबाहिर

blog

जीवछ यादव 

लहान, चैत ३ गते । विवाह तथा धार्मिक सांस्कृतिक कार्यक्रममा उच्च ध्वनिमा बजाइने डीजे बाजालाई नियन्त्रण गर्न केही वर्षदेखि प्रयास गरे पनि प्रयास सफल हुन सकेको छैन। 

डीजे बज्दा निस्केको चर्को आवाजले स्वास्थ्य र वातावरणमा असर पार्ने गरेको छ। यसले मौलिक संस्कृतिमाथि समेत असर परेको भन्दै स्थानीय सरकार तथा प्रहरी प्रशासनले नियन्त्रण गर्न खोजेको हो। नागरिक अगुवा रामविहारी साहले यो चिन्ताको विषय भएको बताउनुभयो। उहाँका अनुसार डीजेमा बजाउने गीतहरू कुनै पनि धर्म संस्कृतिसँग जोडिएको हुँदैन। अश्लील गीत बजाउने डीजे बाजाका कारण धार्मिक सांस्कृतिक र वैवाहिक कार्यक्रमहरूमा सभ्य मानिसहरू सहभागी हुन छाडिसकेका छन्। 

नेपाल पत्रकार महासङ्घ सिरहा शाखा, मानव अधिकारवादी सङ्घसंस्थाहरू, अन्तर धार्मिक हातेमालो संस्थालगायत विभिन्न ठाउँबाट डीजे बाजामा रोक लगाउन माग गरिएको छ। नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको अध्यक्ष मनोजकुमार बनैता यादवका अनुसार चुनाव जितेपछि उत्सवमा डीजे बजाइयो, विवाहमा दुई दिनअघिदेखि नै डीजे बजाउने गरिएको छ। चर्को स्वरको बाजाले विद्यार्थीको पढाइमा असर पर्नुको साथसाथै झैझगडासमेत हुने गरेको छ। 

अन्तरधार्मिक हातेमालो कार्यक्रमका अगुवा भैरवप्रसाद गुलालले चर्को स्वरमा बजाउने बाजा डीजेले समाजमा तनाव र विवादको मात्रै होइन, शान्ति सुरक्षाका लागि ठूलो चुनौती भइरहेको बताउनुभयो। उहाँले यसको रोकथाम गर्न दुई वर्ष अघिदेखि नै प्रहरी प्रशासन, स्थानीय तह र सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएको उल्लेख गर्नुभयो।  

जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेशकुमार महतोले यो सिरहा जिल्लाको समस्या भएको बताउनुभयो। उहाँले यसको नियन्त्रणका लागि प्रहरी प्रशासन तथा जनप्रतिनिधिसँग योजना बनाई लाग्नुपर्ने विश्वास व्यक्त गर्नुभयो। हिन्दु समुदायले गर्ने अष्ठजाम, भागवत, हनुमान आराधनामा बजाउने बाजाले ध्वनि प्रदूषण बढेको छ। त्यस्तै मुस्लिम समुदायले पनि बिहानै धार्मिक प्रयोजनका लागि बजाउने बाजाले त्यतिकै असर पु-याइरहेकोले यसको नियन्त्रण गर्न हिन्दु मुस्लिम दुवै समुदायका अगुवाले पहल गरे पनि प्रहरी प्रशासनको उदासीनताका कारण नियन्त्रण हुन नसकेको ध्वनि प्रदूषणबाट पीडित स्थानीय बताउँछन्।  

मानव अधिकारवादी राजकुमार राउतले धार्मिक कार्यक्रम, मनोरञ्जनात्मक कार्यक्रममा बाजा बजाउँदा अरूलाई असर नगर्ने गरी बजाउनुपर्ने सुझाव दिनुभयो। उहाँले समाजमा शान्ति खल्बलिने अवस्था आउन नहुने बताउनुभयो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इमा लिम्बूले यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले सिरहाले अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नियन्त्रणमा लाग्ने विश्वास दिलाउनुभयो।